धर्म रक्षाका लागि जीवन त्याग्न तयार छुः पुष्पराज पुरुष

उर्लाबारी । नेपाल सनातन धर्म संस्कृति संगठनका केन्द्रीय अध्यक्ष पुष्पराज पुरुषले सनातन्त्र धर्म रक्षाको लागि आफ्नो जीवनलाई त्याग्न तयार भएको बताउनु भएको छ ।

शनिबार मोरङको उर्लाबारी आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । दुई नम्बरी काम गरी कमाएको २÷४ लाख रुपैयाँ मन्दिरमा सहयोग गर्दैमा धार्मिक नेता नहुने बताउँदै सनातन धर्म र संस्मृतिको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । ‘हामी धार्मिक व्यक्ति हौं, हामीले धर्म छाड्नु हुँदैन्, हामी हत्या हिंसामा विश्वास पनि राख्दैनौं’, उहाँले भन्नुभयो, ‘अस्तित्वको रक्षार्थ हामीले आफूलाई तयार गर्नुपर्ने हुन्छ मात्र भनेको हो । अर्को कुरा केहि काँही अधर्मीहरुलाई परास्त गर्न हामीले कठोर निर्णय लिनुपर्ने हुन्छ ।’

२०६२÷०६३ सालको जनआन्दोलनको धर्म निरपेक्षताको एजेन्डा नभएको बताउँदै धर्म नभएको देश हुनै नसक्ने उहाँले दाबी गर्नुभयो । पश्चिमी देशहरुको संस्कार र संस्कृति बढ्दै जानु चिन्ताको विषय भएकाले त्यसका विरुद्ध नेपाल सनातन धर्म संस्कृति संगठन कडा कदम चाल्ने उहाँले बताउनु भयो ।

देश तस्कर, भ्रष्टचारी र दुई नम्बरी गर्ने नेताहरुको कब्जामा रहेकाले जनताले सुख, शान्ति र समृद्धिको आभाष गर्न नपाएको उहाँले उल्लेख गर्नुभयो । नेपाल सनातन धर्म संस्कृति संगठन प्रदेश नं. १ का अध्यक्ष विनोद पोखरेललगायतले सनातन धर्मको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।

शनिबार, १८ पुष, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर