इलाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजन गर्नेछन् ।
कार्यालय व्यवस्थापन समितिमा रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । आगामी पुष २५ गतेभित्र जिल्लाका सबै पालिकाहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमहरु चलाउने निर्णय भएको कार्यालय सदस्य बिजय खम्बूले जानकारी दिनुभयो । बैठकले कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाई नियुक्त गरेको छ ।
नेकपा केन्द्रिय सदस्य एवम प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद खिनु लङ्वा लिम्बू, नेकपा प्रदेश सदस्यहरु उर्मिला तामाङ, मणीकुमार लिम्बू, ध्रुब श्रेष्ठ, नेकपा नेता प्रविन तिम्सिना, राम राईलगायतको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शर्माले अहिलेको संसद विघटन असंवैधानिक कदम भएकाले सबैले आ–आफ्नो तह र तप्काबाट यसको विरुद्ध संर्घष गर्न आग्रह गर्नुभयो । उहाँले प्रतिगमनका विरुद्ध सबै निष्ठावान कार्यकताले आवाज बुलन्द गर्ने समय आइसकेको बताउनु भयो । नेकपा प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बूले नेकपा टुटफुट र विभाजनमा नलागी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजक भक्त केसीले अबको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा आफ्नो भूमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाँले पार्टीबाट पाएको जिम्मेवारीलाई पुरा गर्दै शसक्त आन्दोलनका लागि आफू कटिवद्ध भएको बताउनु भयो ।