विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स्ले बिनाकारण झण्डै दुई सय कर्मचारी निष्काशन गरेपछि यहाँका मजदुर आन्दोलित भएका छन् ।
कम्पनीले १ सय ८४ जना मजदुरलाई बिना कारण निष्काशन गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिनाशर्त पुनर्वहाली गर्न माग गरेका छन् ।
आरती स्ट्रिप्सका झण्डै २ सय मजदुरहरुले शनिबार शनिबार मोरङको बुढीगंगा गाउँपालिका २ स्थित उद्योगको मुलगेटमा धर्ना दिएर दिनभर प्रर्दशन गरे । उनीहरूले मजदुर मार्न पाइदैन, बिना कारण निष्काशन गरेको श्रमिकलाई पुनर्वहाली गर, श्रम ऐनको पालना गर लगायतका नारा लगाएका थिए ।
पुस १० गते आरती स्ट्रिप्सले उद्योगमा कार्यरत १८४ जना मजदुरलाई कामबाट निकालेको थियो । त्यसलगतै उनीहरु आन्दोलित भएका हुन् । दिनभरी आन्दोलित हुँदा पनि श्रमिकको कुनै सुनुवाई कम्पनी नगरेको नेपाल कारखाना श्रमिक संघ आरती स्ट्रिप्सका अध्यक्ष सुरेशकुमार साहले बताउनुभयो । ‘यहाँ कार्यरत श्रमिकलाई कुनै जानकारी नदिई कामबाट निष्कासन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘बिना कारण निष्काशन गरेको कर्मचारीलाई पुनःवहाली नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’
यसअघि उनीहरूले पुनर्वहालीको माग गर्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पनि उजुरी दिएका थिए । तर, श्रम कार्यालयले दिएको निर्देशन पनि आरती स्ट्रिपले उल्घन गरेको छ । यहाँ कार्यरत श्रमिकलाई उद्योगले श्रम ऐनले तोके अनुसारको ज्याला पनि नदिने गरेको उनीहरूको गुनासो छ ।
बैंक खाता रोक्का
निर्देशन उल्लंघन गरेको भन्दै श्रम कार्यालय विराटनगरले आरती स्ट्रिप्सको नाममा रहेको नेपाल भरिका सबै बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ ।
ऐन उल्लंघन हुने गरि उद्योगले १८४ जना मजदूरलाई निष्काशन गरेको र श्रम कार्यालयले पुनर्वहाली गर्न निर्देशन दिँदा पुनर्वहाली नगरी अवज्ञा गरेको भन्दै श्रम ऐन २०७४ को दफा १६७ बमोजिम कारवाही प्रक्रिया अन्तरगत बैंक खाता रोक्का गर्न पत्राचार गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ ।
गत पुस १० गते समयमा काम गर्न कारखानाको गेटमा पुगेका मजदूरहरुलाई उद्योग प्रशासनले बिना कारण प्रवेश नदिएपछि मजदूरहरु आन्दोलित छन् । त्यसको लगत्तै थप मजदुरलाई गेटबाटै फर्काइदिएपछि मजदूरहरुले श्रम कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
उजुरीमाथि कारवाही प्रक्रिया अघि बढाउदै वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले उद्योगलाई पत्र पठाएर पुस १४ गते अपरान्ह ४ बजेभित्र सबै मजदुरलाई पुनर्वहाली गरी १५ गते कार्यालयलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो । उक्त निर्देशन अवज्ञा गर्दै श्रम अदालत जाने धम्की दिँदै पत्र पठाएपछि कार्यालयले बैंक खाता रोक्का गर्न पत्राचार गरेको हो ।
श्रम कार्यालयको आदेश कार्यान्वयन गर्नुको साटो श्रम अदालत जाने प्रशासन प्रमुख दिवश नेपालको पत्र पाएपछि श्रम कार्यालयले कारवाही प्रक्रिया अघि बढाएको हो । नेपाल कारखाना श्रमिक संघको इकाई नविकरणका लागि सदस्यहरुको विवरण सहित श्रम कार्यालयमा पेश भएको रेकर्डका आधारमा श्रमिकहरुको विवरण ठिक हो की होइन लिखित जानकारी गराउनु भन्ने श्रम कार्यालयले उद्योग प्रशासनलाई पठाएको पत्रको जवाफ दिनु अघिनै आरतीबाट श्रमिकलाई निष्काशन गरिएको थियो । पेशागत हकका लागि संगठित हुने र टे«ड युनियन दर्ता दर्ताको प्रकृयामा गएको भन्दै उद्योगले मजदुर निष्काशन गरेको भन्दै श्रमिकहरु आन्दोलित भएका हुन् ।