विराटनगर । संसदीय दलको बहुमत सांसदले दलको नेताबाट बर्खास्त गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै १५ जना प्रदेशसभा सदस्यलाई निलम्बनको घोषणा गर्नुभएको छ ।
आपूm विरुद्ध संसदीय दल र प्रदेशसभामा अविश्वास प्रस्ताव पेश गर्ने १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेको जानकरी मुख्यमन्त्री राईले सार्वजनिक गर्नुभएको हो ।
राईलाई प्रदेशसभामा रहेका नेकपाका ६७ सांसदमध्ये ३६ जनाले बुधबार दलको बैठक बसेर नेताबाट हटाएको जानकारी बिहीबार प्रदेशसभामा दर्ता भएको छ । दलको नेताबाट बर्खास्त भएको सूचना सार्वजनिक भएलगत्तै मुख्यमन्त्री राईले सांसदलाई निलम्बन गरेको पत्रको बोधार्थ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाउनुभएको छ ।
पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेको र स्पष्टिकरणको जवाफ नदिएको भन्दै तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ । उनीहरुको संसदीय दलको सदस्य पनि निलम्बन गरिएको पत्र प्रदेशसभामा सचेतक भण्डारीले छाड्नुभएको छ ।
दलको विधान विपरित अविश्वासको प्रतावमा हस्ताक्षर गरेको भन्दै १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सतेक बुद्धिकुमार राजभण्डारीले राईको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोध्नुभएको थियो । मुख्यमन्त्री विरुद्ध ३७ जना र दलको नेता विरुद्ध ३६ जनाले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाउन उपनेता टंक आङ्बुहाङलाई ३६ जनाले हस्ताक्षर बुझाएकोमा १९ गतेको लागि आङ्बुहाङले दलको बैठक बोलाउनुभएको थियो । उहाँले दल नेता विरुद्ध बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गरेकोले नेताको पद निलम्बित भएको नेताको हैसियतमा कुनैपनि काम नगर्न मुख्यमन्त्री राईलाई पत्राचार गर्नुभएको थियो ।
बहुमत सांसदको अविश्वास प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राईले स्पष्टिकरण सोधेपछि आकस्मिक रुपमा १९ गतेको लागि बोलाइएको दलको बैठक बुधबार बसेर दलको नेताबाट राईलाई बर्खास्त गरिएको आङ्बुहाङले जानकारी दिनुभएको छ । दलको नेतामा भीम आचार्य चययन भएको जानकारीसहित ३६ जना सांसदको हस्ताक्षर उहाँले प्रदेशसभाम बुझाईसक्नुभएको छ ।
दलको नेताबाट बर्खास्त भएको जानकारी प्रदेशसभामा दर्ता भइसकेपछि मुख्यमन्त्री राईले १५ जना सांसदलाई निलम्बन गरेको जानकारी दिनुभएको हो । निलम्बन गरिएकामा भिमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।
जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’ यसअघि स्पष्टिकरण सोधिएिका तुलसी न्यौपाने, झलकसिंह दर्लामी, उषाकला राई र राकुमार राईलाई भने निलम्बन गरिएको छैन ।