विराटनगर । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेको प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग गर्ने चेतावनी दिनुभएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–माधव नेपाल पक्षले हठात् आफु विरुद्ध अविश्वास प्रस्ताव ल्याएर प्रदेश संरचनामाथि आक्रमण गरेको भन्दै यस्तो कदम जारी रहे प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिनुभएको हो । प्रदेश १ सरकारकै लगानीमा सञ्चालित ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा बुधबार मुख्यमन्त्री राईले प्रदेश संरचना जोगाउन कांग्रेसले विवेकसम्मत निर्णय लिने अपेक्षा आफूले गरेको बताउनुभयो ।
बुधबार नै विराटनगरमा पत्रकार सम्मेलन गरि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा विघटन गर्ने हल्ला निराधार भएको भन्दै आफुहरुबाट त्यस्तो काम नहुने बताउनुभएको छ । मुख्यमन्त्रीले संसदमा बहुमत गुमाएको अवस्थामा पनि आफुहरु प्रदेशसभा विघटन गर्ने बाटोमा नजाने मन्त्री कार्कीले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री राईले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव आफु विरुद्धको नभएर प्रदेश संरचना विरुद्ध आएको बताउनुभएको छ । ‘अहिले आएको अविश्वासको प्रस्ताव प्रदेश संरचनामाथि आक्रमण हो’ उहाँले भन्नुभयो, ‘उहाँहरुका यस्ता हर्कतले प्रदेश संरचना विघटन हुन पनि सक्छ ।’ सरकारले प्रदेशसभा विघटन गर्न लागेको हो भन्ने प्रश्नमा उहाँले काँग्रेसले सहयोग गरेर आफ्नो पद बच्ने अवस्था नआएमा प्रदेशसभा विघटन हुनसक्ने सङ्केत दिनुभयो ।
‘मलाई विश्वास छ, प्रदेश संरचना विघटन गर्ने अवस्थामा कांग्रेस उभिंदैन’ मुख्यमन्त्री राईको भनाई छ, ‘जबरजस्ती यस्ता प्रयास गरिए भने भङ्ग हुने अवस्था आउनसक्छ ।’ नेकपा विभाजन भएको अवस्थामा कांग्रेसको समर्थनविना सरकार बन्न नसक्ने भन्दै उहाँले त्यसबारे छलफल भईरहेको जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले भने संघीयता नयाँ संरचना भएकोले यसलाई जोगाउनका लागि विघटनको बाटो नलिएको बताउनुभयो । ‘आफ्नै दलबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको पत्र दर्ता भएपछि उहाँसँग प्रदेशसभा विघटन गर्ने र अविश्वासको प्रस्तावको सामना गर्ने दुई मात्र विकल्प छन्,’ मन्त्री कार्कीले भन्नुभयो ‘तर, मुख्यमन्त्रीले विघटनको विकल्प रोज्नुभएन संसदबाट विश्वासको मत लिने भन्नुभएको छ ।’
‘तपाईहरु ढुक्क हुनुहोस्, हामी प्रदेशसभा विघटनको पक्षमा छैनौं, हाम्रो तफैबाट त्यस्तो सिफारिस वा निर्णय हुँदैन,’ उहाँले भन्नुभयो । प्रदेशसभा विघटन गरेर जनतामा वितृष्णा उत्पन्न हुने काम गर्नेतर्फ आपूmहरु नजाने बताउँदै उहाँले अहिलेको सरकारमा बहुमत जुटाउन काँग्रेससहितका विपक्षी दलहरुसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ।