विराटनगर । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै मङ्गलबार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा पार्टीका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद पुनर्स्थापना गर र संविधानको रक्षा गर लगायतका नारा घन्काउँदै विशाल विरोध र्याली समेत निकालेका थिए । विराटनगरको विरेन्द्रसभा गृहदेखि सुरु भएको र्याली गोल्छा चौक, जलजला चौक र ट्राफिक चौक हुँदै जनआन्दोलन चौक पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्नुहुँदै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले प्रधानमन्त्री ओलीको निजी स्वार्थ र सनकको कारणले संविधान धरापमा पर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको सत्ता लालचका कारणले लोकतन्त्र र गणतन्त्रमाथि सङ्कट पैदा भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीकै कारण मुलुकमा आर्थिक क्रान्ति, आर्थिक समृद्धि, समानुपातिक विकास र समृद्ध नेपालका प्रतिबद्धताहरु पूरा गर्न नसकिएको नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलले बताउनुभयो । ‘संघीयता, समानुपातिक र समावेशी लगायतका मुल्य र मान्यतामा आधारित बहुआयामिक संविधानसहित आर्थिक समृद्धिको दिशामा लाग्न हामीले जिम्मा दिएका थियौं, उहाँले भन्नुभयो, ‘तर दुःखका साथ भन्नुपर्छ गैह्र कम्युनिष्ट नेतृत्वको रुपमा रहेका केपी ओलीको कारण गणतन्त्रात्मक विमान दुर्घटना हुन पुगेको छ ।’
दीर्घकालको संघर्ष पश्चात संस्थागत भएका संवैधानिक उपलब्धिहरु प्रधानमन्त्री ओलीको असंवैधानिक हर्कतका कारण दुषित हुँदै गएको नेकपा मोरङ जिल्ला ईन्चार्ज घनेन्द्र बस्नेतले बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमनतर्फ धकेलेकोले त्यसलाई सच्याउन सडकमा आएको बताउनुभयो ।
सोही अवसरमा बोल्नुहुँदै नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले न्यायालय र निर्वाचन आयोगलाई नीति तथा संविधानमा उभिन आग्रह गर्नुभयो । उहाँले संविधानको धारामा टेकेर फैसला गर्ने बित्तिकै संसद पुनर्स्थापना हुने र मुलुकलाई नयाँ दिशातर्फ डोर्याउन सघाउ पुग्ने जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य गोपी अछामी, प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, पार्टीका मोरङ सचिव गणेश उप्रेती, प्रदेश कमिटी सदस्य भोगेन्द्र यादव लगायतले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैरसंवैधानिक हर्कत विरुद्ध भने पछिल्लो समय देशव्यापी रुपमा निरन्तर आन्दोलन भईरहेको छ ।
natak