नेउवा महासंघ प्रदेश १ लाई निर्वाचन गर्ने बाटो खुल्यो

अन्तरिम आदेशले निरन्तरता पाएन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन रोक्न जारी भएको निषेधाज्ञायुक्त परमादेशलाई उच्च अदालत विराटनगरले निरन्तरता दिन नपर्ने अर्को आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशहरु प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले परमादेशलाई निरन्तरता दिन नपर्ने ठहर गरेको हो ।

पुस ११ गते आयोजना गरिएको साधारण सभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो । दुवै पक्षलाई राखेर उच्च अदालतमा मंगलबार छलफलपछि अदालतले उक्त आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो । उच्च अदालत विराटनगरले निवेदकले ‘निर्वाचन प्रकृया रोक्न अन्तरिम आदेश माग गरेकोमा पूर्व आदेशबाट निर्वाचन स्थगित भइसकेको हुँदा यस अदालतको एक न्यायाधीशको इजलासबाट मिति २०७७÷०९÷१० गते जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने देखिएन,’ आदेशमा भनिएको छ ।

महासंघको निर्वाचन प्रकृया अन्तिम चरणमा पुगेको बेला सदस्यता सम्बन्धी विवादले साधारणसभा स्थगित हुन पुगेको थियो । यस अघि उच्च अदालत विराटनगरले पुस १० गते अन्तरिम आदेशमा छलफलका लाई पुस १४ गते दुवै पक्षलाई बोलाउने र त्यस अवधिसम्म निर्वाचन नगर्नु नगराउनु भन्ने परमादेश जारी गरेको थियो । १४ गतेको छलफलमा निर्वाचन स्थगित भइसकेकोले प्राविधिक कारणले पनि त्यसलाई निरन्तरता दिन आवश्यक नभएको अधिवक्ता डिल्ली कार्कीले जानकारी दिनुभयो ।

अन्तरिम आदेशले निरन्तरता नपाएपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको प्रकृया बढाउन भने बाटो खुलेको छ । ‘अब निर्वाचन समितिले सूचना प्रकाशित गरेर निर्वाचन प्रकृया अघि बढाउन सक्छ,’ अधिवक्ता कार्कीले भन्नुभयो ।

पुस ११ गते तोकिएको निर्वाचन रोक्नका लागि भएको अन्तरिम आदेशले निरन्तरता नपाएपनि मुद्दाको टुंगो नलागेका कारण तत्काल निर्वाचन प्रकृया अघि बढ्ने सम्भावना नदेखिएको अर्का अधिवक्ता पुनम गुप्ताले बताउनुभएको छ । ‘उच्च अदालतको आदेशको पूर्ण अंश हेर्न पाएको छैन तर मुद्दाको प्रकृया नटुंगिएको हुनाले निर्वाचन प्रकृया अघि बढेको खण्डमा फेरी अन्तरिम आदेश माग्दै रिट पर्न सक्ने भएकोले चुनावी प्रकृया नबढ्न सक्छ,’ गुप्ताले भन्नुभयो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबहादुर थपलियाले परमादेशलाई अदालतले निरन्तरता नदिएको र अब नियमित मुद्दाको प्रकृयामा गएको जानकारी दिनुभयो । उहाँले लिखित जवाफ पेश गर्ने १५ दिनको अवधि बाँकी रहेको र जवाफ पछि मुद्दाको सुनुवाई र फैसलाको प्रकृयामा अघि बढ्ने पनि उहाँको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचनमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र झापा भद्रपुरका टीका ढकाल प्रतिष्पर्धाको तयारीमा हुनुहुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २४५ सदस्यहरु छन् । जसमा एशोसिएट सदस्य १८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघका ३६ गरेर जम्मा २४५ सदस्यसँग मताधिकार रहेको छ । त्यस मध्येको विराटनगरको गर्ग प्रिन्टर्सले सदस्यता सम्बन्धी विवाद रहेको भन्दै तत्काल निर्वाचन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेको थियो । निर्वाचनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्षहरु (जि.न. उपाध्यक्ष र एशोसिएट उपाध्यक्ष), एक जना कोषाध्यक्ष, जिल्ला नगरका तर्फबाट ५ जना सदस्य, वस्तुगतबाट दुई जना सदस्य र एशोसिएटबाट दुई जना सदस्य गरी १३ जना निर्वाचित हुने विधानको व्यवस्था छ ।

मङ्गलबार, १४ पुष, २०७७, रातीको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर