प्रदेश १ मा नयाँ सरकार निर्माणको कसरतः

काँग्रेस र नेकपाको बहुमत संसदीय दलबीच वार्ता

विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको नेकपाको बहुमत सांसदहरुको टिम र नेपाली काँग्रेसबीच आगामी सहकार्यको बारेमा औपरिचक छलफल सुरु भएको छ ।

प्रदेशसभामा आइतबार अविश्वास प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग अविश्वास प्रस्ताव दर्ता गर्दा मुख्यमन्त्रीमा प्रस्तावित भीम आचार्यसहितको टोलीले छलफल गरेको हो ।

छलफलमा नेकपाबाट आचार्यसहित इन्द्रबहादुर आङ्बो, टंक आङ्बुहाङ र तुलसी न्यौपाने सहभागी थिए भने काँग्रेसबाट संसदीय दलका नेता राजिब कोइराला, प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई, सांसदहरु शिवनारायण सिंह गन्गाई र शेखरचन्द्र थापाको सहभागिता रहेको थियो । नेकपाकै दुईतिहाई सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वा प्रस्ताव दर्ता भएको अवस्थाबारे छलफल भएको नेकपाका नेता आङ्बोले जानकारी दिनुभयो ।

आपूmहरुसँग प्रदेशसभामा सरकार बनाउन आवश्यक बहुमत सांसद रहेको भएपनि केपी ओलीको अंवैधानिक कदम विरुद्धको आन्दोलनमा सहभागी सबै पक्षलाई समेटर सरकार निर्माण गर्ने विषयमा छलफल भएको नेकपाका नेताहरुले बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक रहेको दुबै पक्षको साझा निश्कर्ष रहेकोले आगामी दिनमा पनि सहकार्य गर्नेबारे सकारात्मक छलफल भएको आङ्बोको भनाइ छ ।

काँग्रेसका प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाका नेताहरुसँग छलफल सुरु भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बारेमा छलफलमा आएको नेकपा समूह र काँग्रेसका धारणा समान रहेकोले सकारात्मक छलफल भएपनि अहिले नै निश्कर्ष निस्कने अवस्था नरहेको उहाँको भनाइ छ ।

‘ओलीको प्रतिगामी कदम र आगामी सरकार निर्माणमा सहकार्यको प्रस्ताव उहाँहरुले गर्नुभएकोमा हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं’ कार्कीले भन्नुभयो, ‘तर, सरकारमा सहभागिताको बारेमा काँग्रेसको केन्द्रीय समितिको बैठकपछि मात्र आवश्यक निर्णय हुनेछ ।’ कार्कीले अहिलेको सरकारमा काँग्रेस सहभागी हुने संभावना भने नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले सरकार प्राथमिकतामा नरहेको बताउँदै प्रदेशसभाबाट सरकार निर्माण हुननसक्ने अवस्था आएमा काँग्रेसले बाहिरै बसेर समर्थन गर्नसक्ने संभावना रहेको जानकारी दिनुभयो ।

मङ्गलबार, १४ पुष, २०७७, साँझको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर