रंगेली । कोरोना महामारीको कारण बन्द भएका शैक्षिक संस्थाहरु ९ महिनापछि विस्तारै खुल्न थालेका छन् ।
कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै गत चैत्र ५ गतेदेखि बन्द भएका विद्यालयहरु आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालन भएका हुन् ।
सरकारले हालै तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा २०७७’ अनुसार मोरङका अधिकांश स्थानीय तहहरुले विद्यालयहरु सञ्चालनमा ल्याईरहेका छन् । कार्यढाँचामा विद्यालय सञ्चालनका लागि दिइएका ७ वटा विकल्पहरुको पालना गर्दै विद्यालय सञ्चालन हुन थालेका हुन् ।
पढाई सञ्चालन गर्दा विद्यालयले विद्यार्थीका लागि अनिवार्य रुपमाा मास्कको व्यवस्था गर्नुपर्ने, एउटा बेञ्चमा २ जनाभन्दा बढी विद्यार्थी राख्न नपाईने र नियमित रुपमा साबुनपानीले हात धुन लगाउनुपर्नेलगायत स्वास्थ्य मापदण्ड तोकिएको छ । मोरङको रतुवामाई नगरपालिकासहित दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहमा गएको सोमबारबाट विद्यालय सञ्चालनमा आएको छ ।
रतुवामाईस्थित जनता माध्यमिक विद्यालय कक्षा ५ की छात्रा रेनुका कटुवालले ९ महिनापछि विद्यालय जान पाउँदा खुसी लागेको बताउनुभयो । साथीहरुसँगै बसेर बल्ल पढ्न पाइएको भन्दै उहाँले कोरोना भाईरसको डर भने अझै समाप्त नभएको उल्लेख गर्नुभयो ।
लामो समयसम्म विद्यालय जान नपाएका रेनुका जस्तै लामो समयसम्म शिक्षाबाट बञ्चित भएका अन्य थुप्रै विद्यार्थीहरु विद्यालय जान पाएका छन् । विद्यालयले पनि आवश्यक सुरक्षा सर्तकता अपनाएर विद्यार्थीहरुलाई कक्षाकोठामा प्रवेश दिने गरेका छन् । विद्यालय प्रवेश गर्नुअघि हातधुने, मास्क लगाउने र भौतिक दुरी कायम गरि हिँडडुल गर्ने तथा कक्षाकोठामा पनि सामाजिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाइएको छ ।
रतुवामाईका अधिकांश विद्यालय सोमबारबाटै खुलेका छन् भने केही खुल्ने तरखरमा छन् । लामो समयपछि विद्यालय खुल्दा चहलपहल बढेको जनता मा.वि का प्रधानाध्यापक ईश्वर खनालले बताउनुभयो । धेरै समयपछि विद्यालय खुलेकाले खुशी लागेको उहाँले बताउनुभयो ।
सरकारको ‘विद्यालय सञ्चालन कार्यढाँचा २०७७’ बमोजिम मोरङमा यसअघि नै १ दर्जन बढी विद्यालयहरु सञ्चालनमा आईसकेका छन् ।