प्रदूषण फैलाउने मोटरसाईकलमाथि कार्वाही

विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङले ठूलो आवाजसहित सडकमा कुद्ने बुलेट मोटरसाईकललाई नियन्त्रणमा लिई कारबाही गर्न थालेको छ ।

बुलेट मोटरसाईकलका कारण ध्वनी प्रदूषण अत्याधिक बढेको जनगुनासो आउन थालेसँगै ट्राफिक प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गर्न थालेको हो ।

पछिल्लो समय मोरङमा साईलेन्सर परिवर्तन गरेर ठूलो आवाजसहित सडकमा कुद्ने बुलेट मोटरसाईकलहरुको संंख्या बढ्दै गएको छ । यसरी कुद्ने मोटरसाईकलले ध्वनि प्रदूषण गर्नुका साथै मुटुसम्बन्धी दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई समेत समस्या हुन थालको गुनासो आएपछि मोरङ ट्राफिक प्रहरीले कारबाही गर्न थालेको जनाएको छ ।

ट्राफिक प्रहरीले यसरी कुदाईएका मोटरसाईकलहरुलाई नियन्त्रणमा लिई चालकलाई जरिवानासहित कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाएर छोड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेशकुमार पोद्धारले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले त्यस्ता मोटरसाईकल चालकलाई कारवाहीस्वरुप १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सोमबारदेखि कारबाही सुरु गरेको ट्राफिक प्रहरीले मङ्गलबार बेलुकासम्म २ दर्जन बढी बुलेट मोटरसाईकलहरु नियन्त्रणमा लिई कारबाही गरिसकेको जनाएको छ ।

बुधबार, १७ मंसिर, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर