धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घरमा चार लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आइतबार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगलागीबाट घरको माथिल्लो तल्ला पूर्णरूपमा जलेर नष्ट भएको छ।
घरमा डेरा गरी बस्दै आएकी सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ निवासी मिना चापागाईँको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, एक थान ल्यापटप, एलसीडी टेलिभिजन र मोबाइल जलेर करिब एक लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
त्यसैगरी, घरधनी शिवकुमार तुम्बाको काठपात, धान, मकैलगायत खाद्यान्न तथा लत्ताकपडा जलेर करिब दुई लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन। प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।