लोड हुँदैछ...

मेनु

नेप्से सामान्य अंकले घट्यो, दुई नयाँ हाइड्रोमा सकारात्मक सर्किट

नेप्से सामान्य अंकले घट्यो, दुई नयाँ हाइड्रोमा सकारात्मक सर्किट

विराटनगर। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजार सोमबार भने १.४६ अंकले घट्दै २७००.६५ विन्दुमा झरेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घट्दा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१० अंकले बढेको छ। फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३५३ कम्पनीका ८१ लाख ३८ हजार कित्ता शेयर ९० हजार ८६२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यी दुवै कम्पनीको शेयर गत शुक्रबार मात्रै सूचीकृत भई सोमबारदेखि कारोबारमा आएको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब साढे ७ प्रतिशत र सोपान फर्मास्युटिकल्सको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ। घटेका कम्पनीमध्ये कुनै पनि कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेन।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोड रुपैयाँभन्दा बढी तथा १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढ्दा १० उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ५६.२१ अंकले घट्दै सबैभन्दा बढी गिरावट व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।