लोड हुँदैछ...

मेनु

धनकुटा नगरपालिकाले ल्यायो ७६ करोड ६६ लाखको बजेट

धनकुटा नगरपालिकाले ल्यायो ७६ करोड ६६ लाखको बजेट

धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले बजेट ल्याएको हो।

धनकुटा नगरपालिकाको १८औँ नगरसभामा नगर प्रमुख चिन्तन तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका आधारमा उपप्रमुख भीमादेवी खनालले बजेट सार्वजनिक गरेकी हुन्। बजेटअनुसार चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपैयाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख ८६ हजार ६८५ रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाको मुख्य आयस्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँट रहेको छ। संघीय सरकारबाट समानीकरण अनुदानतर्फ १२ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदान ३४ करोड ९२ लाख रुपैयाँ, विशेष अनुदान एक करोड रुपैयाँ र समपूरक अनुदान एक करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २१ लाख १२ हजार रुपैयाँ, सशर्त अनुदान एक करोड ८६ लाख ६ हजार रुपैयाँ तथा समपूरक अनुदान ८० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

बजेटअनुसार संघीय राजस्व बाँडफाँटबाट १० करोड ११ लाख ७७ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड पाँच लाख ८६ हजार ११५ रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँटबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। आन्तरिक स्रोतबाट चालु तथा पुँजीगत गरी १० करोड ८६ लाख ४१ हजार ८८५ रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ।

उपप्रमुख खनालले विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि करिब १९ करोड ५३ लाख ८६ हजार ६८५ रुपैयाँ पुँजीगत बजेट छुट्याइएको जानकारी दिइन्। नगर प्रमुख तामाङले नगरवासीको जीवनस्तर सुधार, उत्पादन वृद्धि, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताए।

उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास र समृद्धिको लक्ष्य हासिल गर्न बजेट केन्द्रित गरिएको उल्लेख गरे। नगरसभाबाट पारित हुने उक्त बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।