लोड हुँदैछ...

मेनु

कोशीटप्पुमा जेठसम्म ९ हजारभन्दा बढी पर्यटकको भ्रमण

कोशीटप्पुमा जेठसम्म ९ हजारभन्दा बढी पर्यटकको भ्रमण

इनरुवा । अर्नाको राजधानी र चराचुरुङ्गीको स्वर्गका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ९ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्। आरक्षमा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षका योजना अधिकृतका अनुसार भ्रमण गर्ने कुल पर्यटकमध्ये ९ हजार ७० जना नेपाली रहेका छन्। तीमध्ये ४ हजार ५३५ महिला र ४ हजार ५३५ पुरुष छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबाट २५ जना पर्यटक आरक्ष पुगेका छन्, जसमध्ये तीन जना महिला र २२ जना पुरुष रहेका छन्।

त्यसैगरी सार्कबाहेकका अन्य देशबाट १४७ जना विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्। तीमध्ये ४४ जना महिला र १०३ जना पुरुष रहेका छन्।

तथ्यांकअनुसार सबैभन्दा बढी पर्यटक मंसिर महिनामा आएका छन्। उक्त महिनामा १ हजार ८९३ जनाले आरक्ष भ्रमण गरेका थिए भने सबैभन्दा कम असोज महिनामा ३२५ जना पर्यटक पुगेका थिए। साउनमा ४९६, भदौमा ५४७, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा १ हजार ७० जनाले आरक्षको अवलोकन गरेका छन्।

कोशीटप्पु वन्यजन्तु आरक्ष लोपोन्मुख अर्ना (जंगली भैँसी) को प्रमुख वासस्थानका रूपमा परिचित छ। यहाँ हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गरलगायत करिब २० प्रजातिका साना–ठूला वन्यजन्तु पाइन्छन् भने सप्तकोशी नदीमा डल्फिनसमेत अवलोकन गर्न सकिन्छ।

विश्वमै दुर्लभ मानिएका चराचुरुङ्गीसहित आरक्षमा करिब ४९८ प्रजातिका चरा पाइन्छन्। तीमध्ये हाँस प्रजातिका २० र जलचर प्रजातिका ११४ प्रजाति रहेका छन्। पछिल्लो समय आरक्ष क्षेत्रमा गैँडाको समेत अवलोकन हुन थालेको आरक्ष कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।