विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालिका–२ स्थित चुलीपोखरीमा पहिलो पटक विद्युत लाईन विस्तार भएको छ ।
उज्यालो गाउँपालिका निर्माण अभियान अन्तर्गत कुल ४८ लाख रुपैयाँको लागतमा ५० के.भी. को विद्युतलाईन विस्तार भएको हो । गत जेठ ५ गतेदेखि थालिएको बिजुलीबत्ती विस्तारको कार्य करिब ६ महिनापछि सम्पन्न भएको हो । गाउँमा बिजुलीबत्तीको पहुँच पुग्दा सोलार, मैनबत्ती र टुकीको भरमा जीवन धान्दै आएका स्थानीय हर्षित बनेका छन् ।
विकासप्रेमी जनप्रतिनिधि र पर्याप्त दीर्घकालीन योजनाले गति लिँदा विकट ठाउँमा पनि विकासले निकास पाएको स्थानीय मोहन राईले बताउनुभयो । बिजुलीबत्तीको पहुँचको अभावमा अँध्यारोमा जीवन धान्दै आएका स्थानीयले अहिले उज्यालोमा बस्न पाउँदा संघीयता त हाम्रै लागि आएको हो भन्ने अनुभुति गर्न पाएका उहाँले जिकिर गर्नुभयो ।
स्थानीय उपभोक्ता, सोही क्षेत्रबाट निर्वाचित जननप्रतिनिधी र सांसदहरुको अग्रसरतामा मोरङको मिक्लाजुङ–२ स्थित चुलाचुलीमा बिजुली विस्तारको कार्य सम्पन्न भएको वडाध्यक्ष गौरी राईले जानकारी दिनुभयो । एउटा मोबाईल मात्र चार्ज गर्नपनि मधुमल्ला बजार झर्नुपर्ने बाध्यता रहेको ठाउँमा बिजुलीबत्ती पुग्दा स्थानीय दङ्ग परेका छन् ।
स्थानीयको लामो समयदेखिको माग पुरा गर्न सकेकोमा आफूलाई पनि खुसी लागेको सो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले बताउनुभयो । मिक्लाजुङ–१ मा हाल ५ करोड ४३ लाख ६६ हजारको लागतमा अर्को विद्युतलाईन विस्तारको कार्य पनि भइरहेको छ । विद्युत लाईन विस्तारको कार्य अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आईतबार संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई र सोही वडाका वडाध्यक्ष गौरी राईले स्वीच थिचेर गाउँमा बिजुलीबत्ती विस्तारको कार्यलाई उद्घाटन गर्नुभयो ।