प्रहरी कार्यालयबाटै प्रतिवादी पक्राउ

विराटनगर । अदालतले ६ वर्षअघिनै कैद सजायको फैसला गरेको गरेपनि फरार रहेका एक प्रतिवादी सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाटै पक्राउ परेका छन् ।

श्रीमतीमाथिको कुटपिट एवं अंगभंग मुद्दामा कैद सजाय पाएका विराटनगर महानगरपालिका–६ का ३१ वर्षीय अशोककुमार साहलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

साहलाई सो मुद्दामा जिल्ला अदालत मोरङले २०७१ साल असार १५ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय भुक्तान नगरि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै श्रीमती पार्वती साहलाई कुटपिट गरेर अंगभंग बनाएको घटनामा साहविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रहरीले अनुसन्धान अघि बढाउन लागेको मोबाइल चोरी सम्बन्धी एउटा घटनाका बारेमा बुझ्न भन्दै प्रहरी कार्यालय पुगेका बेला साह पक्राउ परेका हुन् । शंकास्पद गतिविधी गर्न थालेपछि प्रहरीले बुझ्दा उनी कैद सजायको फैसला भएर फरार रहेका प्रतिवादी भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

फरार प्रतिवादी सम्बन्धी सबै विवरण अपडेट रहेकाले एउटा घटनाको पीडित बनेर प्रहरी कार्यालयमा उपस्थित भएका प्रतिवादीलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ । झुक्याउँदै ‘सुटुक्क’ प्रहरी कार्यालय छिरेका उनी मोबाइल चोरी सम्बन्धी घटनाको पीडितका रुपमा देखिएका थिए ।

मंसिर १५, २०७७, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर