विराटनगर। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र वैचारिक र सांगठनिक दिशाबारे दुई धारबीच बहस चलिरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले बहस पार्टीका कमिटीहरूमा मात्र सीमित नरही सार्वजनिक सञ्चार माध्यमसम्म पुगेको र त्यसमा टिप्पणीकार तथा बुद्धिजीवीहरूको समेत सहभागिता देखिएको उल्लेख गरेका छन्।
भट्टराईका अनुसार बहसको एक पक्षले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक, व्यवहार, कार्यशैली, आचरण र नेतृत्वमा व्यापक तथा बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण आवश्यक रहेको धारणा अघि सारेको छ। अर्को पक्ष भने सबै क्षेत्रमा यथास्थितिलाई कायम राख्ने पक्षमा रहेको उनले बताएका छन्।
उनले दुवै पक्षका आफ्ना–आफ्ना तर्क रहेको उल्लेख गर्दै राजनीतिक बहस तथ्य र तर्कका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्। एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादीहरूको पार्टी भएकाले त्यस्ता मान्यता राख्नेहरूलाई कसैको एजेन्डा वा दलालका रूपमा चित्रण गर्नु उचित नहुने उनको भनाइ छ।
स्टाटसमा उनले एमालेले विगतमा राप्रपा, माओवादी, कांग्रेस तथा मधेशवादी दलहरूसँग समेत चुनावी तालमेल र सत्ता साझेदारी गरेको स्मरण गराउँदै आफ्नै पार्टीभित्रको फरक विचारप्रति वैरभाव राख्नु एमालेको स्थापित संस्कृति विपरीत हुने उल्लेख गरेका छन्।
उनले राजनीतिक बहस र छलफलले पार्टीलाई कमजोर नबनाउने दाबी गर्दै मदन भण्डारीले आफूभन्दा फरक विचार राख्ने मनमोहन अधिकारी र सीपी मैनालीलगायत नेताहरूलाई पनि सम्मानजनक स्थान दिएर सहकार्य गरेको उदाहरण प्रस्तुत गरेका छन्। यही नै एमालेको संस्कृति भएको उनको भनाइ छ।
समयानुकूल पार्टी पुनर्गठन हुने विश्वास व्यक्त गर्दै उनले पुनर्गठित पार्टीमा सबैको सम्मान हुने, फरक मत र विचारबीच हार्दिक सहकार्य कायम हुने तथा निषेधकारी व्यवहारको अन्त्य हुने बताएका छन्। साथै पार्टी सामूहिक र संस्थागत ढाँचामा सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन्।
स्टाटसको अन्त्यमा उनले अहिलेको बहसलाई राजनीतिक र वैचारिक दिशा दिन सम्पूर्ण एमालेजनलाई आग्रह गरेका छन्। “हामी जबजवादी हौं, हामी मदन भण्डारीका उत्तराधिकारी हौं,” भन्दै उनले पार्टीभित्र स्वस्थ वैचारिक बहसलाई सकारात्मक रूपमा लिन आह्वान गरेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।