विराटनगर । ‘हर्न निषेध’को पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सवारी चालकलाई अनुरोध गर्दै नियमको पालना नगरेर कारबाही गर्ने तयारी गरेको छ ।
प्रदेश १ लाई तीन वर्षअघि नै ‘हर्न निषेध’ क्षेत्र घोषणा गएिकोमा पछिल्लो समयमा नियमको उल्लघंन बढेपछि प्रहरीले कडाइ गर्न लागेको हो ।
हर्न बजाउने नाममा त्यसको दुरुपयोग गरिएको र ध्वनी प्रदूषणसमेत बढेको भन्दै प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट प्रदेशमा ‘हर्न निषेध’ गरेको थियो । त्यसयता साना तथा ठूला सवारी साधनलाई जथाभावी हर्न बजाउन रोक लगाइएको छ ।
तत्कालिन प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले प्रदेशमा ‘हर्न निषेध’को अवधारणा लागू गरेका थिए । केही समयसम्म त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको थियो ।
ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने सवारी साधन र चालकलाई कारबाही गर्ने गरेको थियो । तर, पछिल्लो समय त्यसको कार्यान्वयन फितलो भएको छ । मोरङ प्रहरीले भने अब कडाई थालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
निजी, सरकारी तथा सार्वजनिक सवारी साधनले जथाभावी प्रेसर हर्नको प्रयोग गरिरहेको भन्दै प्रहरीले अब उप्रान्त हर्न प्रयोग नगर्न भनेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुर्घटना हुनसक्ने खतरा रहेको स्थान, घुम्ती र मोडहरुमाबाहेक अन्य स्थानमा सवारी साधनले हर्न बजाउन नपाउने जानकारी दिनुभयो ।
प्रहरीले प्रदेश १ मा गरेको ‘हर्न निषेध’ का विरुद्धमा २०७४ साल कात्तिक १४ गते परेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको थियो । हर्न निषेधलाई अझ व्यवस्थित रुपमा लागू गर्दै आगामी दिनमा यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने मोरङ प्रहरीले जनाएको छ ।