मुख्यमन्त्रीज्यूलाई सम्पर्कमा आउनेबारेको सूचना

 लिलाबल्लभ घिमिरे

माननीय मुख्यमन्त्रीज्यू,
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,
विराटनगर, प्रदेश नम्बर १

विषयः सम्पर्कमा आइदिनुहुन ।

उपरोक्त सम्बन्धमा २०७६ साल वैशाख १६ गतेको प्रदेश सरकार मन्त्रिपरिषदले बैठकले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय धनकुटामा खोल्ने निर्णय गरेको कुरा यहाँलाई अवगतै होला । सोही निर्णय बमोजिम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईज्यूको सम्पर्क कार्यालय तत्कालीन पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनमा खोलिएको हो । उक्त कार्यालयको बाहिर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय लेखिएको बोर्डसमेत झुण्ड्याएको छ । केहि थान सरकारी कर्मचारीहरुसमेत आउजाउ गरेको देखिन्छ । तर, लामो समयदेखि तपाईकै पहलमा खोलिएको सम्पर्क कार्यालयमा तपाईलाई नै देख्न, हेर्न र बोल्नसमेत नपाइएको वर्ष दिन पुग्न लागेछ । तसर्थ तुरुन्त सम्पर्कमा आइदिनुहुन विनम्र अनुरोध छ ।

मुख्यमन्त्रीज्यू ! यसरी विनाजानकारी आफ्नै कार्यालयमा उपस्थित नभइदिँदा धनकुटा मात्र हैन, तेह्रथुम र संखुवासभाका बासिन्दाहरु चिन्तित छन् । यसै पाटोमा पर्ने भोजपुर जिल्लावासीहरुले भने तपाईलाई सम्र्पक कार्यालय नै नआइ भेटघाट भईरहेको खबर सुन्न पाउँदा कटक्क चित्त दुखेर आउँछ । बारम्बार घर जानु त राम्रो कुरा हो । तर, आफूले नै खोलेको मुख्यमन्त्री सम्पर्क कार्यालयको बाटो काटेर जानु चाँही उचित हो र ?

मुख्यमन्त्रीज्यू ! तपाईले पनि धनकुटा, भोजपुर र संखुवासभाका जनतालाई प्रदेशको राजधानी विराटनगरसम्म आउने झन्झटबाट मुक्त हुने भन्ने हेतुका साथ यो कार्यालयको स्थापना गर्ने निर्णय गर्नुभएको थियो होला । तर, आज एकाएक तपाई नै सम्पर्कबाहिर भईदिँदा हाम्रो मन रोएको छ ।

कि त्यसबेला धनकुटा सदरमुकाममा प्रदेशको स्थायी राजधानीको माग गर्दै भएको आन्दोलनलाई मत्थर गर्ने मनसायले मात्र त सम्पर्क कार्यालय स्थापना गर्नुभएको थियो ? हुन त त्यसबेला अन्यत्र पनि आन्दोलन नभएका हैनन् । तर, प्रदेशको स्थायी राजधानी माग गर्दै धनकुटामा सबैभन्दा ठूलो र लामो समयसम्म आन्दोलन चलेको तपाईलाई राम्रोसँग हेक्का छ । आन्दोलन हुनु पनि स्वाभाविक थियो । राणाकालदेखि प्रशासनिक अड्डा रहेको धनकुटा पञ्चायतकालमा समेत विकास क्षेत्रको केन्द्र नै बनेर बसेको थियो । प्रजातन्त्र स्थापनासँगै धनकुटाका अधिकार खोसिनथाले । गणतन्त्रसम्म आइपुग्दा धनकुटा प्रशासनिक रुपमा दाह्रा र नङ्ग्रा खुस्किएको बुढो बाघजस्तै बन्नपुग्यो । अहिले धनकुटा सुस्ताएको छ । धनकुटाको मन रोएको छ । धनकुटाको शीरमा तपाईको पदको नाम लेखिएको कार्यालय छ । तर, सधै बेहुली अन्माएको घरजस्तै उराठ लाग्दो देखिन्छ । तपाईसँग नाम जोडिएकाले पनि धनकुटाका लागि तपाईले केहि गर्नुहुन्छ भन्ने विश्वास धनकुटाबासीले लिएका थिए । प्रदेशको स्थायी राजधानीको माग गर्दै सडकमा उत्रिएका युवाहरुले प्रहरीका गोलीसम्म खाए । नहुनु मामाभन्दा कानो मामा भएपनि ठिक भने झै मुख्यमन्त्रीको सम्पर्क कार्यालय भएपनि स्थापना त भयो नि भनेर चित्त बुझाएका धनकुटाबासीको मन तपाई नै सम्र्पकमा नआएपछि सारै रोएको छ ।

मुख्यमन्त्रीज्यू ! प्रदेश राजधानीतिरबाट यता आउने भनको कोरोना मात्र हो । अरु धेरै कुरा आउन सकेको छैन । भेडेटारमा जति छेकेपनि यो कोरोनाचाँही फुत्तफुत्त आईरहेको छ । बरु धेरै कुरा विराटनगरबाट माथिल्लो भोजपुरे दाईको तिर गएको सुनिन्छ । त्यसमा हाम्रो खासै चित्तदुखाई हुने कुरा भएन । तर, धनकुटाका लागि प्रदेश सरकारले केहि चाँही गर्नुपर्ने हो । गर्छ भन्ने विश्वास पनि लिएका थियौं । सम्पर्क कार्यालय पनि खोल्नुभएको थियो । कम्तिमा महिनामा एकपटक आउनुहुन्छ र सम्पर्क कार्यालयमा तीन दिन भएपनि बस्नुहुन्छ भन्ने लागेको थियो । हामी पनि हाम्रा हेन्डसम मुख्यमन्त्रीसँग सेल्फी खिच्दै चियागफ लगाउन पाउँछौं भन्ने सपना थिए । तर, ती सबै तपाई नै सम्पर्कबाहिर भएपछि तुहिनपुगे । मुख्यमन्त्रीज्यू ! यसरी बच्चा जन्माएर टुहुरो बनाउनु महापाप हो ।

यतिबेला पूर्वी पहाडका जनताले केका लागि र किन सम्पर्क गर्ने भन्ने पनि राम्रोसँग बुझेका छैनन् । धेरैलाई त यो सम्पर्क कार्यालय भनेको के हो भन्नेसमेत थाहा छैन । यदि धनकुटाबासीलाई ललिपप देखाउनका लागि मात्र सम्पर्क कार्यालय खोलिदिनुभएको भए त के नै पो गर्न सकियो र ? बरु यो साइनबोर्ड झिकिदिनुहोस् । ती बिचरा कर्मचारीलाई अन्यत्रै लगेर काम लगाउनुहोस् । घामै तापेर मात्र त के सरकारी पैसा खुवाउनु हुन्छ ?

मुख्यमन्त्री ज्यू अरु धेरै कुरा छन् । गनथनपनि लामो भयो । हुन त तपाई धेरै व्यस्त हुनु हुन्छ होला । प्रदेश सरकारपनि चलाउनु प¥यो । पार्टी फुट्ला जस्तो हुन्छ । त्यसको तनावपनि तपाईलाई छदै छ । भ्रष्टार गरे भनेर हल्ला हुन्छ । त्यसले तपाईलाई झनै पिरोल्छ होला । त्यति मात्र कहाँ होर आफ्नै पार्टी भित्र प्रतिपक्ष भन्दा कडा समुहको सामना गरी रहनु भएको छ । यहाँ सम्मकी बेला बेला तिनीहरु तपाईकै पद माथि धावा वोली रहेको पनि हामीलाई थाहा छ । तातोपानीले घर डढ्दैन भन्छन् । हेरौं के हुन्छ ।

मुख्यमन्त्रीज्यू ! अर्को कुरा त्यो बाहिर बोर्डमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय लेखिएको छ । तपाईका अरु मन्त्रीहरु पनि त छन् । कहिले चिया पसलसमेत उद्घाटन गर्न कुदिरहेका समाचार सुन्न पाइन्छ । तपाई धेरै व्यस्त हुनुभयो भने मन्त्रीहरुलाई पालो गरेर सम्पर्क कार्यालयमा पठाउने व्यवस्था त मिलाइ दिनुहोस् । यो मुख्यमन्त्री र मन्त्रीहरुको सम्र्पक कार्यालय हो कि प्रमुख सचिव र अन्य सचिवहरुको सम्पर्क कार्यालय हो ? यहाँ त कर्मचारीबाहेक अरुको अनुहार देख्न पनि पाइदैन । अन्त्यमा धेरै गन्थन भए क्षमा पाउ । तर, एकपटक जतिसक्दो चाँडो सम्पर्कमा आउनुहुन्छ भन्ने विश्वासका साथ प्रत्यक्ष भेटने बाचासहित विदा चाहन्छु ।
उहि तपाईको धनकुटे कान्छा ।

आइतबार, ०७ मंसिर, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर