लोड हुँदैछ...

मेनु

न्यानो लत्ताकपडा वितरण गर्दै युवा

न्यानो लत्ताकपडा वितरण गर्दै युवा

विराटनगर । लकडाउन अवद्यिमा १ सय २० दिनसम्म निःशुल्क खाना खुवाएको टीमले सडकपेटीमा बस्ने गरिब असहायलाई न्यानो लत्ताकपडा वितरण गरेका छन् ।

निःशुल्क खाना खुवाउने युवाहरुको टीमले बुधबार विराटनगरका सडकपेटीमा बस्ने ३ सय जना गरिब तथा असहायलाई न्यानो लत्ताकपडा वितरण गरेका हुन् । लकडाउनमा गाँसको अभाव झेल्न विवश भएका उनीहरुलाई भित्रिदै गरेको जाडोमा कपासको अभाव नहोस भन्ने उद्देश्यका लत्ताकपडा वितरण गरिएको युवा अभियन्ता ओसिम आलमले बताउनुभयो ।

युवा अभियन्ता ओसिम आलम नेतृत्वको युवा समुहले बुधबार बिहानै विराटनगर–९ मेनरोडस्थित हनुमान मन्दिर छेउको बी प्लटमा गरिब तथा असहायलाई लत्ताकपडा वितरण गरेका हुन् । युवाहरुको सो टीमले दशैं अगावै विराटनगर–१० स्थित मानव सेवा आश्रमका १ सय जना वृद्धवृद्धाहरु पनि न्यानो लुगा वितरण गरेका थिए ।

युवाहरुको सो समुहले विभिन्न दाताहरुबाट संकलित लत्ताकपडा धोएर निर्मलीकरण गरेर मात्र सडकपेटीका असहायहरुलाई वितरण गर्ने गरेको युवा अभियन्ता ओसिम आलमले जानकारी दिनुभयो । विराटनगरस्थित श्री कृष्ण पार्टी प्यालेसमा विभिन्न दाताहरुले सहयोग गरेको आवश्यक लत्ताकपडा संकलन गर्दछौं, उहाँले भन्नुभयो, ‘कपडा आईसकेपछि काम लाग्ने लत्ताकपडालाई धोएर, निर्मलीकरण गरेर र प्याक गरेर मात्र आवश्यक परेकालाई वितरण गर्ने गरेका छौं ।’

लकडाउन खुलेपछि युवाहरुको सो समुह हाल खाना खुवाउने अभियानलाई बे्रक दिएर न्यानो लत्ताकपडा वितरणमा सक्रिय भएका छन् । जाडोयामलाई ध्यानमा राख्दै यो अभियानलाई निरन्तरता दिईने अभियानका नेतृत्वकर्ता ओसिम आलमले जिकिर गर्नुभयो । उहाँले सहयोगी मनहरुलाई घरमा थन्किएका तर पुनः प्रयोगमा ल्याउन सकिने लत्ताकपडा मात्र सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।