लोड हुँदैछ...

मेनु

ठेकेदारको ‘खुट्टा भाँच्न’ भौतिक पूर्वाधारमन्त्री मन्त्री लम्सालको निर्देशन

ठेकेदारको ‘खुट्टा भाँच्न’ भौतिक पूर्वाधारमन्त्री मन्त्री लम्सालको निर्देशन

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको निरीक्षणका क्रममा काममा ढिलाइ गर्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका छन् ।

आइतबार सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले बिजुलीको पोल स्थानान्तरणमा ढिलाइ भएको भन्दै सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय तथा प्रहरी उपरीक्षक सुमित खड्काको उपस्थितिमा मन्त्री लम्सालले यस्तो निर्देशन दिएका हुन् । मन्त्रीको उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।

यसअघि मन्त्री लम्सालले निर्माण व्यवसायीलाई पक्राउ गरेर विवादमा आएका थिए ।
निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई बोलाउँदा नआएको भन्दै प्रहरीमार्फत नियन्त्रणमा लिएपछि उनी विवादमा परेका थिए ।

धादिङकी प्रमुख जिल्ला अधिकारी पाण्डेयले मन्त्रीले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको बताउँदै त्यसलाई काम छिटो सम्पन्न गराउने उद्देश्यका रूपमा व्याख्या गर्दै बचाउ गरेकी छन्। नागढुंगा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) की आयोजना प्रमुख तथा सिडिई सजना अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्षअघि नै पोल सार्ने सहमति भएकोमा ठेकेदार कम्पनीले हालसम्म आवश्यक पोल स्थानान्तरण नगर्दा सडक निर्माणमा समस्या भएको छ।

पश्चिम खण्डमा १०७ र पूर्वी खण्डमा ८० भन्दा बढी बिजुलीका पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। पोल नहट्दा निर्माण कार्य प्रभावित भइरहेको उनले बताइन्।

यसअघि गत निर्वाचनको समयमा हालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पनि काम नगर्ने ठेकेदारलाई ‘रूखमा बाँध्ने, बाटोमा सुताउने वा खोरमा जाक्ने’ अभिव्यक्ति दिएका थिए । त्यसलाई पछि रास्वपा सभापति रवि लामिछानेले सच्याएका थिए ।

मन्त्री लम्सालको पछिल्लो अभिव्यक्तिले सार्वजनिक पदमा रहेका व्यक्तिको भाषा, जिम्मेवारी र कानुनी मर्यादाबारे पुनः बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।