करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे र उर्लाबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको मोरङको पथरीशनिश्चरे नगरपालिका–८ मा करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुवरलालको मृत्यु भएको हो । साँझ ६ बजेतिर करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा आधा घण्टापछि मोरङ अस्पताल पथरीमा मृत्यु भएको गिरीले बताउनुभयो ।

त्यस्तै खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारीका एक जनाको मृत्यु भएको छ । मावा खोलामा विद्युत प्रवाह गरेर माछा मार्दैगर्दा करेन्ट लागेर उर्लाबारी नगरपालिका–९ का ३५ वर्षीय विनोद परियारको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार करेन्ट लागेर घाइते भएका परियारको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको हो । प्रहरीले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

शनिबार, २२ कार्तिक, २०७७, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर