दसैंमा के खाने, के नखाने ? मासु कति खाने

 डा. अरुणा उप्रती

दसैं यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ । दसैं खानासँग पनि जोडिन्छ । पाहुना आएपछि त खाना दिनैपर्याे । दसैंमा मिठो मसिनो खाने चलन नै छ । दसैं मासुसँग धेरै गाँसिएको छ । पहिला पहिला मानिससँग धेरै पैसा थिएन, त्यसैले दसैंको बेलामा मासु खानुपर्छ भन्ने चलन थियो । तर हाल मानिस अरु बेलामा पनि खाइरहन्छन् । दसैंको बेलामा मासुको धेरै कुरा आउँछ । मानिसको आयु पहिलाभन्दा बढेको छ भने स्वास्थ्य समस्या पनि छ । यसको मुख्य कारण जीवनशैली र खानपान हो ।

पहिला–पहिला मानिस साइकल चढ्थे, आधा–एक घण्टा हिँडेरै जान्थे । तर अहिले मानिसको हिँडाइमा कमी आएको छ । आर्थिक प्रगति भएको छ, जुन राम्रो हो तर यसले स्वास्थ्यमा असर पारेको छ । हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ । दसैंमा हामी अझै बढी मासु खान्छौँ । खान हुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन ।

हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ । मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटोपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ । दसैंमा आफन्तहरुसँग भेटघाट हुन्छ, त्यसैले यो रमाइलो चाडमा सबै मिलेर बस्ने–खाने हो । तर खानपिनमा ब्यालेन्स हुनु जरुरी छ । मासुसँगै चिउरा, रोटी, भात खाइन्छ । मिठो मासु छ भने भात अझै बढी खाने चलन छ । यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ ।

त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ । एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्काे छाकमा मासु खानु हुँदैन । पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन । धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन । यसले शरीरलाई हानी गर्छ । जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ ।

दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन् । शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ । तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ । तर, मिठाइहरु भने धेरै खानु हुँदैन । शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ ।

पत्रु खाना खानु हुँदैन । बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन । चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ । यसले बालबालिकाको मृगौलामा असर पार्छ । पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ । चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ । घरमै पेय पदार्थ बनाउन सकिन्छ ।
दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ । दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ भनेर खाने गरिन्छ, जुन कुरा गलत हो । स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन । रातो मासु कसैले पनि खानु हुँदैन । सेतो मासु र माछा खान सकिन्छ । स्वस्थ व्यक्तिले पनि माछा मासु धेरै खानु हुँदैन ।

दसैंको बेलामा व्यायाम गर्न छोड्नु हुँदैन । मानिसहरु दसैंको बेलामा धेरै रमाइलो गर्ने अनि सुत्ने गर्छन् । दशैं भएपनि कमसेकम आधा घण्टादेखि एक घण्टा व्यायम गर्नुपर्छ । राति अवेरसम्म खानु हुँदैन तर खानेले अझै बढी व्यायाम गर्नुपर्छ । दसैं सकिएपछिको कामलाई ध्यान दिएर दसैं मनाउनुपर्छ ।

शुक्रबार, ०७ कार्तिक, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर