विराटनगर । कर्णाली अञ्चलको हिमाली जिल्लामा उत्पादन हुने मार्सी धानको चामलको नाम नसुन्ने नेपाली सायद कमै होलान् । मार्सी चामललाई प्रबद्र्धन गर्ने श्रेय भने झापाका व्यवसायी दुर्गा प्रसाईलाई जान्छ ।
तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकता अगाडिको एउटा बैंठक प्रसाईको घरमा गरेका थिए । सो बैठकमा मार्सी चामलको खाना खुवाएको फोटो प्रसाईंले सार्वजनिक गरेपछि मार्सी चामलको प्रचारप्रसार व्यापाक भएको थियो ।
झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं पहिलेदेखि नै नेकपासँग जोडिएका व्यवसायी हुन् । उनकै घरमा पार्टी एकताको क्रममा भएको छलफलमा खाना खाएको फोटो सार्वजनिक भएपछि मार्सी चामलको चर्चा व्यापक भएको थियो । मिडिया र सामाजिक सञ्जालमा त्यसको व्यापक प्रचार भएपछि जुम्लामा उत्पादन भएको मार्सी चामलको माग देशभर बढेको थियो ।
मेडिकल कलेजको सम्बन्धनको पर्खाइमा रहेका प्रसाईंले मार्सीभात खुवाएर सत्तारुढ नेकपालाई प्रभावित पार्न खोजेको भन्दै आलोचना भएको थियो । अहिले पनि नेताहरुको सम्बन्धलाई लिएर आलोचना गर्नेहरुले मार्सी भातको प्रसंग निकाल्ने गरको छन् ।
आफूमाथिको आलोचनाको हतियार बनेको मार्सी चामलको प्रसाईले भने थप प्रवद्र्धन गर्ने भएका छन् । उनले ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउने तयारी गरेका छन् । भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री खरिद गरेर उनले मार्सी ब्राण्डमा बियर उत्पादन थालेका हुन् । टाइगर ब्रुअरीले टेन्सबर्ग बियर उत्पादन गरिरहेको थियो ।
कम्पनीले मार्सी प्रिमियम र मार्सी स्ट्रोङ बियर बजारमा ल्याउने तयारी गरेको प्रसाईले जानकारी दिनुभयो । हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर बजारमा ल्याउने तयारी छब । यस्तै मार्सीको क्यान बियर पनि आउनेछ ।
कोरोना कहरकै बेला प्रसाईंले तेजेन्द्र खड्काको टाइगर ब्रुअरी किनेका हुन्। प्रसाईं सो कम्पनीका अध्यक्ष बनेका छन्। ७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको कम्पनीले जनाएको छ । जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ।
आपूmले गराएको भान्सा राजनीतिक वृत्तमा जति चर्चित भयो, बियर पनि बजारमा त्यतिकै चर्चित बनाउने प्रसाईको तयारी छ । मार्सी बियरको ट्रेडमार्क दर्ता भइसकेको छ भने बोत्तलहरूको तयारी अन्तिम चरणमा पुगेको प्रसाईंले बताउनुभयो ।