बेलबारी । मोरङको बेलबारी– ८ स्थित सिंहदेवी सामुदायीक वन उपभोक्ता समूहले स्थानीय उपभोक्ता महिलाहरुलाई हाते कपडा बुन्ने तान बितरण गरेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तान वितरण गरिएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सोमबार २० जना महिला उपभोक्ताहरुलाई कपडा बुन्ने हाते तान हस्तान्तरण गर्नुभयो ।
तान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सुवेदीले गरिवी निवारणका लागि सामुदायिक वनहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शीपलाई व्यवसायिक बनाउँदै आत्मनिर्भरको बाटोमा अघि बढ्न वितरित मेसिन प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
बेलबारी नगरपालिकाले समेत विपन्नता हटाउन गरिवसँग नगरपालिका अभियान नै सञ्चालन गरिरहेको स्मरण गर्दै सिंहदेवी सामुदायीक वन समितिले त्यस अभियानलाई सघाएको भन्दै प्रशंशा गर्नुभयो । नगरप्रमुख सुवेदीले सामुहिक ब्यवसायीक खेति गर्नेहरुलाई नगरपालिकाले सहयोग गरिरहेको जानकारी दिँदै बैदेशिक रोजगारी बाट फर्केका युवालाई सीप अनुसारको व्यवसाय गर्न सहयोग गर्दै आएको बताउनुभयो ।
सिंहदेवी सामुदायीक वन उपभोक्ता समितिले प्रत्येक वर्ष महिलाहरुलाई ब्यवसायिक बनाउन विभिन्न तालिम र आवश्यक औजारहरु वितरण गर्दै आएको समूहका अध्यक्ष समरबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० जना महिलालाई सिलाई कटाई तालिम दिइएको थियो ।