दुहबीमा कोभिड अस्पताल र आइसोलेसन सञ्चालन

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले ५१ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

दुहबी ८ स्थित जयकाली कन्फेक्सनरीको पुरानो बिस्कुट फ्याक्ट्रीमा निर्माण गरिएको आईसोलेसन केन्द्र र कोभिड अस्पताल बुधबार मुख्यमन्त्री शेरधन राईले निरीक्षण गर्नुभएको छ ।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि संक्रमितलाई उपचार गर्न ५१ बेड क्षमताको आईसोलेसन र ५ बेड क्षमताको अस्थायी कोभिड अस्पताल निर्माण गरेको नगरपालिकाले जनाएको छ । आइसोलेसनमा महिलाको लागि २१ र पुरुषका लागि ३० वटा बेडहरु रहेका छन् ।

नगरपालिकासँग १ सय बेड क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने क्षमता भएपनि हाल प्रारम्भिक चरणमा ५१ बेड क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको छ । आवश्यक परेमा बेडहरु थपेर क्षमता विस्तार गर्ने नगर प्रमुख वेदनारायण गच्छदारले बताउनुभयो ।

नगरपालिकाले स्थापना गरेको ५ शैय्यााको कोभिड अस्पतालमा संक्रमितहरुको उपचारका लागि १ जना एम.बि.बि.एस. डाक्टर, २ जना नर्सिङ स्टाफ र १ जना कार्यालय सहयोगीसहित एम्बुलेन्स तथा अन्य आवश्यक पूर्वाधारहरुको व्यवस्थापन मिलाईएको छ । हाल अस्पतालमा भेन्टिलेटरको र आईसियुको सुविधा नभएपनि अक्सिजनको पर्याप्त व्यवस्था गरिएको छ ।

गम्भीर प्रकृतिका बिरामीहरु देखिए उनीहरुलाई सम्बन्धित कोभिड अस्पतालमा रेफर गरिने व्यवस्थापन मिलाएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । दुहबी नगरपालिकालाई भने आईशोलेसन केन्द्र तयार गर्न प्रदेश सरकारले ३० लाख र अस्थायी कोभिड अस्पताल तयार गर्न संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार, १४ असोज, २०७७, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर