विराटनगर । चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षा गर्न विराटनगरका नागरिक अगुवाहरुले अपिल गरेका छन् ।
आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भएको छ र कुनैपनि दिन परिस्थिति गम्भीर बन्नसक्ने भन्दै विराटनगरका २२ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
विराटनगरका नागरिक अगुवा, बुद्धिजीवी, सामाजिक व्यक्तिहरु र मानव अधिकारकर्मीहरुले अपिल जारी गरेका हुन् । अपिल जारी गर्नेहरुमा तोरेन्द्रमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, प्रा.कृष्ण पोखरेल, दिनेश श्रेष्ठ, सोमराज थापा, विश्वनाथ रिजाल, मोहन भण्डारी, डिकप्रसाद घिमिरे, डा. फरवार्ड सिलवाल, रामबावु दाहाल, मधु पोखरेल, डा. सम्झना प्रधान र मीनाकुमारी जोशी छन् । यस्तै भैरव रिजाल, राकेश मिश्र, सत्तार अन्सारी, भक्तिमान धिमाल, बासुदेव नेउपाने, उत्तम ढुंगेल, मंजिता उपाध्याय र सीता शर्मा दाहालले जारी गरेको अपिलमा विभिन्न सरकारका समयमा केसीसँग गरिएका सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
सरकारले सम्झौता कार्यान्वयन नगर्दा केसी अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको भन्दै उनीहरुले डा.केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्न माग गरेका छन् ।