दमक । झापाको गौरादहमा ६५ वर्षीया बृद्धाको हथौडाले हानेर बिभत्स हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
गौरादह १ शिवालय मन्दिर नजिकै बस्ने मनमाया भण्डारीको सोमबार बेलुका घरमै हत्या भएको थियो ।
बृद्धाको निधार र टाउकोमा चोट छ । हथौडाले उनको टाउकोमा हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । भण्डारीको शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अबस्थामा फेला परेको थियो ।
हात बाँधेर हत्या गरेको र त्यसपछि लाश खाटमुनि लुकाएको हुनसक्ने अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएर अनुसन्धान भइहरेको बताउनुभयो ।
घरमा एक्लै रहेको अवस्थामा बृद्धाको हत्या भएको मृतकका देवर खगेन्द्र भण्डारीले जानकारी दिनुभयो । घटना भएको दिन बिहान साढे ११ बजेतिर मात्र मृतक र उनका श्रीमान् भीम भण्डारी गौरादहस्थित घरमा आइपुगेका थिए । भण्डारी दम्पतीको पुरानो घर कमल गाउँपालिका १ ढ्याङग्रीमा छ ।
उनीहरु नातिनातिना पढाउनका लागि ५ वर्ष अघिदेखि गौरादहमा घर किनेर बसोबास गर्दै आएका थिए । कोरोनाका कारण विद्यालय बन्द भएपछि करिब ३ महिनादेखि उनीहरु ढ्याङग्रीस्थित घरमा बस्दै आएका थिए ।
घटनापछि प्रहरीले परिवारका सदस्यहरुलाई पनि निगरानीमा राखेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।
हत्याराको खोजी कार्यका प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर लैला ल्याएको थियो । अनुसन्धानको क्रममा कुकुर मृतकको शव रहेको घरदेखि ३ किलोमिटर पूर्व स्थानीय सिस्ने खोलाको पुलसम्म पुगेर केही अल्मलिएको थियो ।
मृतक महिलाको श्रीमान, २ छोरा र १ छोरी रहेका छन् ।