कोशीले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा विराटनगर ६ की एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर–६ सुकुम्बासी टोलमा बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको अस्पतालले भर्ना नलिएपछि बिहीबार बिहान घरमै मृत्यु भएको हो ।

प्रसूति व्यथाले च्यापेपछि विमलालाई बिहान १ बजेतिर उनका श्रीमान शिवु ऋषिदेवले कोशी अस्पताल लगेका थिए । कोशीले बेड खाली नभएको भन्दै भर्ना लिन अस्वीकार गरेपछि उनले श्रीमतिलाई घर फर्काए । यसअघि दुई बच्चा शल्यक्रियाबाट जन्माएकी उनको ४ बजे मृत्यु भएको हो ।

तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फिर्ता पठाएको शिवुको भनाइ छ । बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको थियो ।

स्थानीय अक्षय सहनीका अनुसार मृतकका ९ र ३ वर्षका दुई छोरी छन् भने अढाई वर्षका छोराको दुई वर्षअघि बस्ता खोलामा डुबेर मृत्यु भएको थियो । सुकुम्बासी परिवार भएकोले श्रीमतिको प्रसुतिको लागि निजी अस्पताल लैजान नसकेको स्थानीयले बताएका छन् ।

मृतकको अन्तिम संस्कार गर्ने खर्चसमेत परिवारसँग नहुँदा प्रदेशसभा सदस्य केदार कार्कीले सहयोग गर्नुभएको थियो । कोशीले फर्काइदिएपछि आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले निजी अस्पताल लैजान रकम जोहो गर्दै गर्दा दुःखद् घटना भएको कार्कीले बताउनुभयो ।

आर्थिक अभाव हुँदा र अस्पतालको लापरबाहीका कारण सर्वसाधारणले ज्यान गुमाउने अवस्था आउनु सरकारको लाचारीपन भएको भन्दै स्थानीय आक्रोशित छन् । कोशी अस्पतालले भने प्रसुतिका लागि आएका गर्भवतीलाई अस्पतालले फिर्ता पठाउने नगरेको बताएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले प्रसुतिका लागि आएकी ऋषिदेवलाई फिर्ता पठाएर मृत्यु भएको रहेछ भने छानबिन गरेर कारबाही गर्ने बताउनुभएको छ । प्रसूतिका लागि ल्याइएका महिलालाई जुनसुकै अवस्थामा पनि तत्काल उपचार गर्नुपर्ने अस्पतालको नीति रहेको उहाँको भनाइ छ ।

यसअघि मोरङको कानेपोखरी गाँउपालिकाकी ७ महिनाकी गर्भवती २३ वर्षीया सविना थापा (दर्जी)को पनि अस्पतालले उपचार नगर्दा मृत्यु भएको थियो । त्यति मात्र हैन कोरोनाको बहानामा अस्पतालले उपचार गर्न नमान्दा विराटनगरमा आधा दर्जन बढिको मृत्यु भइसकेको छ ।

शुक्रबार, २६ भदौ, २०७७, बिहानको ११:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर