काठमाडौं । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अस्पताल नहुँदा समस्या भइरहेको बेला सरकारले अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति स्थानीय तहलाई पाँच शैयाको अस्थायी अस्पताल बनाउन निर्देशन दिएको हो ।
कोरोना संक्रमित बिरामी राख्न अस्पतालमा बेड अभाव भएकाले अस्थायी रूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । निर्देशन अनुसार कार्यान्वयन भए देशभरमा तत्कालै तीन हजार २४५ बेडका अस्पताल निर्माण हुनेछन् ।
ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तत्कालका लागि व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्ने तथा अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालका लागि प्रतिशैया २ लाखका दरले बजेटसमेत निकासा गरिरहेको जनाएको छ ।
यस्तै अस्पतालका लागि तीन महिनाको शैयाका लागि पाँच लाख, औषधि ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको जनाएको छ ।
मन्त्रालयका अनुसार ती स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।