विराटनगर । उपचारबापतको ११ लाख रुपैयाँ शुल्क तिर्न नसकेपछि अस्पतालकै नियन्त्रणमा रहेको सिरहाको दलित सुकुम्बासी परिवार बृद्धको शव विराटनगरस्थित नोबेल मेडिककल कलेजले परिवारको जिम्मा लगाएको छ ।
उपचारको क्रममा भदौ १९ गते मृत्यु भएका सप्तरीको महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको परिवारले उपचार शुल्क तिर्न नसकेपछि नोबेलले शव दिएको थिएन ।
शुल्क नबुझाएसम्म शव नदिने अडान नोबेल व्यवस्थापनले दिएकोमा मृतकको परिवारले भने त्यत्रो रकम तिर्न नसक्ने बताएको थियो । त्यसबारे हाम्रोमतमा समाचार प्रकाशित भएपछि नोबेल अस्पतालले उपचारमा लागेको सबै शुल्क मिनाहा गरेर आफ्नै एम्बुलेसन्मा खालेर मृतकको शव आफन्तको घरसम्म लगिदिएको छ ।
अस्पतालले आफ्नै एम्बुलेन्समा राखेर मृतकको घरमै शव पुऱ्याएर परिवारलाई जिम्मा लगाएको जनाएको छ । अस्पतालले जेठा छोरा नवीनलाई फोन गरेर शव जिम्मा लगाएको हो ।
पैसा तिर्न नसकेपछि अस्पतालको मर्चरीमा अलपत्र परेको शव अस्पतालले घरमै ल्याएर जिम्मा लगाइदिएपछि मृत्यु भएको ५ दिनपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका छन् । उच्च रक्तचापले थलिएका वृद्धको नोबेलमा २५ दिन आइसियु र ४ दिन भेन्टिलेटरमा उपचार भएको थियो ।
चैत ५ गते नै नोबेलमा भर्ना भएका उनको उपचारको क्रममा ३ लाख रुपैयाँभन्दा धेरै रकम ऋण खोजेर खर्च गरेका थिए । त्यसबाहेक अस्पतालमा ५ लाख र औषधि पसलको ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको अस्पतालले जनाएको थियो । बृद्धको मृत्युपछि नोबेल प्रशासनको टोली उनको जायजेथा बुझ्न गाउँमै पुगेको थियो । तर, सुकुम्बासी परिवार भएको बुझेपछि रकम बुझाएपछि मात्र शव दिने अडान व्यवस्थापनले लिएर परिवार समस्यामा परेको थियो ।
नोबेलका जनसम्पर्क अधिकृत नारायण दाहालले मृत्यु भएका बृद्धको परिवारको अवस्था यकिन भएपछि सबै खर्च मिनाहा गरिदिएर शव घरमै लगिदिएको जानकारी दिनुभयो । यसअघि अस्पताल प्रशासनले तिर्नुपर्ने शुल्क धेरै भएकोले अध्यक्ष सुनिल शर्माले मात्र डिसिजन दिनसक्ने बताउँदै आएको थियो । त्यसबारे समाचार आएपछि शर्माले नै शुल्क मिनाहा गरिदिएका हुन् ।
सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछ । जेठा छोरा २७ वर्षीय नविन र अर्का छोरा २४ वर्षीय कुमार दुबै मिस्त्री काम गर्दछन् ।