विराटनगर । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगर स्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलितको शव रोकेर राखेको छ ।
उपचारका क्रमममा शनिबार मृत्यु भएका सप्तरीको महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकोले आफन्तले अन्तिम संस्कार गर्न पाएका छैनन् ।
सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको अस्पतालले जानकारी दिएको छ । पैसा तिर्न नसकेपछि नोबेलले बुबा सनमनको शव लैजान नदिएको जेठा छोरा नविन अछामीले बताउनुभयो । आफूहरुसँग त्यत्रो पैसा र्तिनसक्ने अवस्था नभएको उहाँको भनाइ छ ।
उच्च रक्त्तचापका विरामी सनमनको गत चैत ५ गतेदेखि नोबेलमा उपचार भइरहेको थियो । उनलाई २५ दिन आइसियुमा र ४ दिन भेन्टिलेटरमा राखिएको थियो । उपचार वापतको अस्पताल प्रशासनको ५ लाख र औषधी वापतको दवाई पसलमा ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको नोबेलले जनाएको छ ।
पैसा तिर्नसक्ने क्षमता आपूmहरुको नभएको र शव लैजान अस्पतालले नदिएकोले बुबाको अन्तिम संस्कार गर्न नपाएको छोरा नविनको गुनासो छ । उनी नोबेल अस्पतालमा भौतारिदै आफूसँग उपचारशुल्क तिर्नसक्ने अवस्था नभएकोले शव लैजान दिन नोबेल प्रशासनसँग हारगुहार गरिररहेका छन् ।
अस्पतलाका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्नसक्ने अवस्था नभएको बताउनुभयो । यसबारेमा अध्यक्ष सुनिल शर्माले मात्र डिसिजन दिनसक्ने उहाँको भनाइ छ ।
सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछन् । जेठा छोरा २७ वर्षीय नविन र अर्का छोरा २४ वर्षीय कुमार दुबै मिस्त्री काम गर्दछन् । श्रीमानको मृत्युपछि ६१ वर्षकी आमा सीता बेहोस अवस्थामा छन् ।
छोरा नविनका अनुसार बुवाकोे मृत्युपछि पैसा तिर्न नसक्दा अस्पताल र फार्मेसीका प्रतिनिधिहरु घरजग्गा धरौटी राख्न सकिन्छ कि भनेर महुली पनि पुगेका थिए । तर, सुकुम्बासी परिवार भएकोले असुल उपर गर्नसक्ने अवस्था नभएपछि उनीहरु चुपचाप फर्किए । त्यसपछि झन् अस्पतालले पैसा तिरे मात्र बाबुको शव लैजान दिने अडान लिएको छ ।
बुबाको उपचारमा ऋण खोजेर यसअघि ३ लाख रुपैयाँ खर्च गरेको बताउँदै नविनले बुबाको अन्तिम संस्कार गर्ने व्यवस्था मिलाईदिन सबैसँग गुहार माग्नुभएको छ ।