सांसदले मलको लाइन देखेर भनेः सम्झिँदा समातेर…भा’छ

विराटनगर । मोरङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित प्रदेशसभा सांसद उपेन्द्र प्रसाद घिमिरेले सामाजिक संजाल फेसबुकमा मल लिन लाइन बसेका किसानको दुई वटा तस्बिर र स्टाटस पोष्ट गर्दै सरकारका मन्त्रीहरुप्रति रोष प्रकट गर्नुभएको छ ।

सांसद घिमिरेले यो लकडाउनमा कसलाई के भन्नु..? कति भन्नु…? जनताको समस्या ज्यूँ का त्यूँ छ भन्दै सम्झिदा समातेर… भा,छ भन्नुभएको छ । उहाँले सरकारका मन्त्रीहरुलाई लक्षित गर्दै आफू कम्युनिष्ट भएको र किसानको छोरो भएकोसम्म सम्झन सुझाव पनि दिनुभएको छ ।

‘लेटाङ मोरङ प्रदेश नं. १ रासायनिक मल लिन आउने कृषक दाजु भाइ दिदिबहिनीहरुको भेला है यो,’ सामाजिक संजाल फेसबुकमा घिमिरेले लेखेको पोष्टमा उल्लेख छ, ‘यो लकडाउनमा कस्लार्इ भन्नु….? कति भन्नु …? जनताको समस्या ज्यूँका त्यूँ छ सम्झिदा समातेर…… भा छ । म कम्युनिष्ट थिएँ किसानको छोरो हुँसम्म त सम्झिदेउ सरकार……….।

सांसद घिमिरेको उक्त पोष्टमा थुप्रै नकारात्मक टिप्पणी सुरु भएको छ । पूर्वी मोरङका पत्रकार केशी बिरहीले मल कारखाना खोल्ने हिम्मत गर्न सांसद घिमिरेलाई सुझाव दिनुभएको छ । ‘माननीय ज्यू प्रदेशभरीलाई पुग्ने गरिको मल कारखाना खोल्ने हिम्मत गर्नुहोस । बजेटको अभाव भएमा रकम हाल्न जनता तयार छन्,’ विरहिको कमेन्टमा उल्लेख छ ।

यस्तै कमेन्ट बक्समै डिल्ली खतिवडाले सांसदले नै लाचारी देखाएको भन्दै पोष्ट हटाउन सुझाव दिएका छन्, ‘यो लाचारी जोक पाराको यस्तो दृश्य पोस्ट गर्दा कतै आफैलाइ आफुले गिज्याए जस्तो पो हुन्छ कि माननीय ज्यू ? बरु यो पोष्ट हटाउँदा पो राम्रो हुन्थ्यो कि ?’

‘अब मुख्यमन्त्री जिलाई मार्ग प्रसस्त गर्न लगाउनु पर्यो जस्तो लाग्यो। नयाँ नेतृत्व ले केही गर्न सक्छ कि। भाइ, तेता तिर बरु लाग्दा ठिक होला, नत्र जग हसाउने काम ले प्रदेश को भलो नहुने भो’, पूर्वाधार विकास मन्त्रालयका पूर्व सचिव मनोज घिमिरेले कमेन्ट बक्समा उल्लेख गर्नुभएको छ ।

यस्तै नेकपा मोरङका जिल्ला सदस्य मणि दाहालले कमेन्ट गर्दै यस्तो उल्लेख गर्नुभएको छ, ‘सायद जबज र एसजको गणितीय फ्युजनले जन्माएको जजले ल्याएको समाजवादी मोडेलको कृषि क्रान्ति यसैलाई मान्ने कि माननीय ज्यू ।’

‘के मान्ने, के नमान्ने सर । किसानको हालत भीडबाट देखि हाल्नु भो’ सांसद घिमिरेले उक्त कमेन्टलाई रिप्लाई गर्दै भन्नुभएको छ ।

यस्तै अर्का फेसबुक प्रयोगकर्ता गोपाल क्षेत्रीले आफ्नो पैसाले मल किन्दा पनि जनताले कष्ट उठाउनु पर्ने कम्युनिस्टको सरकारको पालामा भन्दै प्रश्न उठाउनु भएको छ भने म नेपाली नामका फेसबुक प्रयोगकर्ताले भने सांसदलाइृ सुझाव दिँदै यस्तो उल्लेख गरेका छन्, ‘के गरु त माननीय उपेन्द्रप्रसाद घिमिरे ज्यू सरकारमा हजुरहरु नै हुनुहुन्छ, हजुरहरु आफै जिम्मेवार हुनुहुन्छ यो कुरामा अनि कस्ले गर्ने ? हजुरहरुले नै त हो गर्ने होइन र ?’

अर्का फेसबुक प्रयोगकर्ता सुरेश अधिकारीले भनेका छन्, ‘माननीय ज्यू….जनताले भन्नुभन्दा अगाडि सरकारी पक्षले हात उठाए जस्तो भएन यो त ? सहि ब्यक्तिबाट गलत पोस्ट ! फेसबुके रमाईलो ! आज मज्जा आउने भो !’ अधिकारीको उक्त कमेन्टको प्रतिउत्तरमा घिमिरेले ‘म जनताको प्रतिनिधि मात्र हो सर । सरकार होइन भन्दाभन्दा वाक्क भएर…. यो बाटो हिंड्न बाध्य’ भनेर उल्लेख गर्नुभएको छ ।

यस्तै अर्का सामाजिक संजाल फेसबुक प्रयोगकर्ता पवन शर्माले भने हिंजो राजा माहाराजा हुँदा आफू सानो थिएँ भन्दै उसबेला मल बिउ बिझन लिन बजार जाँदा जतिखेर पनि पाइने गरेको भन्दै आजकाल कम्युनिष्ट भन्दा कमाउनिष्ट भएको कारण दिनभर लाइन बसेर १ बोरा पनि मल नपाएको गुनासो गरेका छन् ।

बुधबार, १७ भदौ, २०७७, रातीको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर