विराटनगर । उद्योग व्यवसायमा नकारात्मक असर पुगेको भन्दै मोरङका उद्योगी व्यवसायीहरुले भदौ २२ गतेपछि जिल्लामा निषेधाज्ञालाई निरन्तरता नदिन आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङ , मोरङ व्यापार संघ र विराट व्यापार संघको तर्फबाट अध्यक्षहरु भीम घिमिरे, प्रकाश मुन्दडा र सुजन थापाले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी बिना कुनै विकल्प लकडाउन र निषेधाज्ञा मुलुकले धान्न नसक्ने भन्दै अब निरन्तरता नदिन माग गर्नुभएको हो ।
बन्दाबन्दीको समयमा सरकारले विद्युत महसुल, खानेपानी लगायत कुनै पनि महशुलमा छुट नदिने तर बन्द अवधिको खर्चको दायित्व उद्योगीले व्यहोर्नु पर्ने अवस्था अब धान्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
बन्दाबन्दी र निषेधाज्ञाले आम जनजीवन अस्तव्यस्त भएको र आर्थिक गतिविधि ठप्प भएको भन्दै संयुक्त विज्ञप्तिमा अब सदाको लागि यि कामहरु बन्द गर्नुपर्ने सुझाव दिएको छ ।
उद्योगहरु पूर्णसमय सञ्चालन गर्न नसक्दा उत्पादन कटौति भएको, मजदुरहरुको रोजगारी गुमेको, उत्पादित बस्तु बिक्री वितरण गर्न नसक्दा गोदाममा थन्किएको र बजार बन्द हुँदा कतिपय उपभोग्य वस्तुको उपभोग्य अवधि समाप्त भई नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएकोले निषेधाज्ञालाई पुन नबढाउन माग गरेको हो ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य प्रोटोकलको पालना र कडा अनुगमन गर्दै उद्योग, व्यवसाय तथा अन्य कामलाई निरन्तरता दिन दुवै संगठनले आग्रह गरेको छ । सबै उद्योग तथा व्यवसायहरु निर्धारित मापदण्ड भित्र रहेर सञ्चालन गर्न व्यवसायिहरुलाई पनि अनुरोध गरेको छ । सरकारलाई पिसिआर परीक्षणको दायरा बढाउन, प्रयाप्त आइसोलेसन र आइसियुको प्रवन्ध गर्न पनि उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् ।