विराटनगर । मेनिन्जाईटिस रोगबाट ग्रसित झापाका ९ वर्षीय बालकको उपचार तथा पालनपोषणका लागि ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेर विगत ४ वर्षदेखि सरसफाईको क्षेत्रमा कार्यरत संस्था ‘परिवर्तनका लागि हातेमालो’को पहलमा सहयोग रकम संकलन गरी बालकको उपचारका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।
सामाजिक सञ्जालमार्फत् आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बालकको अवस्थाबारे जानकारी पाएपछि संस्थाले ‘गजेन्द्र भाई बचाऔं अभियान’ सञ्चालन गरेको थियो । गत भदौ ७ गतेदेखि आर्थिक सहयोग संकलन थालेको अभियानमा विराटनगरका स्थानीय बुद्धिजीवि, आम नागरिक र विदेशमा रहेका नेपालीहरु सहभागी थिए । संकलित रकम सोमबार बालकका हजुरबुवा चन्द्रबहादुर थापालाई प्रदान गरिएको हो । संस्थाका अध्यक्ष विनोद परियार, सल्लाहकार संदीप पोखरेल र नवराज नेपाललगायतका समूहले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । बालकको उपचारका लागी थप सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको संस्थाका अध्यक्ष विनोद परियारले जानकारी दिनुभयो ।
झापाको झापा गाउँपालिका वडा नं. ६ स्थित झाँटी बस्ने ९ बर्षीय गजेन्द्र थापा विगत १ महिनादेखि मेनिन्जाईटिस रोगबाट ग्रसित छन् । १५ दिनदेखि झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उनको उपचार भईरहेको छ । ५३ दिनअघि नै बुबाको निधन भईसकेको र आमा पनि बोल्न तथा सुन्न नसक्ने उनको पारिवारिक आयश्रोत शून्य छ । आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपरेपछि सहयोग जुट्ने क्रम जारी भएसँगै बालकले उचित उपचार पाएको हजुरबुवा चन्द्रबहादुर थापाले बताउनुभयो । उनको उपचारमा हालसम्म १ लाख ५० हजार रुँपैयाभन्दा बढी खर्च भईसकेको तथा थप ७० देखि ८० हजार खर्च हुने उहाँले जानकारी दिनुभयो ।
१५ दिन पहिले ज्वरो र एलर्जीको समस्या लिएर अस्पताल ल्याईएका ९ वर्षीय गजेन्द्र थापालाई मेनिन्जाईटिस पुष्टि भएको थियो । तर पछिल्लो समय उचित उपचार पाउँदा उनको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आएको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. धर्मपाल रायले जानकारी दिनुभयो । उहाँले बालकको अवस्था विश्लेषणको आधारमा उनलाई शनिबार नै डिस्र्चाज गर्न सकिने जिकिर गर्नुभयो ।
संस्थाले भने ९ वर्षीय गजेन्द्रको उपचारका लागि जुटाएको सम्पूर्ण सहयोग रकम कुमारी बैंकको बिर्तामोड शाखामा बालककै नाममा खाता खोली जम्मा गराईदिएको छ । गजेन्द्रको उपचारका लागि थप सहयोग गर्न चाहनेहरुले खाता नं. ०१२००९७७७१७००००१ मार्फत उनकै बैंक खातामा सहयोग रकम जम्मा गराईदिनसक्ने संस्थाले जनाएको छ ।