विर्तामोड । झापाको भद्रपुरस्थित मेची अस्पतालमा सञ्चालन भएको कोभिड १९ उपचार केन्द्र अर्को स्थानमा सारिने भएको छ ।

संक्रमितलाई अस्पतालको मुख्य भवनमै राख्दा अन्य विरामी उपचारको लागि आउन डराएको भन्दै आलोचना भएपछि मेची प्रादेशिक अस्पतालको हाताभित्र रहेको कोभिड– १९ उपचार केन्द्र अन्यत्र सार्न लागिएको हो ।

कोरोना संक्रमितलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्नेगरी ५० शैय्याको व्यवस्थापन गरिएको छ । अस्पतालको निर्माणाधीन भवनमा कोरोना संक्रमित राख्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरले जानकारी दिनुभयो । उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

‘सङ्क्रमितको उपचारका लागि अस्पतालका डा.गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्य समिति गठन गरिएको छ । समितिमा आबद्ध चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् । अस्पतालको योजना कोभिड १९ उपचार केन्द्रलाई एक सय शैयाको बनाउनेछ ।

अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना संक्रमण पुष्टि भएका बिरामी राख्न थालिएको थियो । २२ शैय्याको आइसोलेसन तीन दिनमै भरिएपछि ५० बेडको उपचार केन्द्र बनाउने पहल अगाडि बढेको हो ।