इटहरी । प्रहरी र थुनुवामा भटाभट कोरोना भाइरसको संक्रमण देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले गम्भीर प्रकृतिका मुद्दाबाहेकका सबै सेवा बन्द गरेको छ।
थुनुवासँगै अन्य कर्मचारीलाई समेत कोरोना देखिएपछि कार्यालय आउजाउमा पनि कडाइ गरिएको प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो ।
सुरूमा जिल्ला प्रहरी कार्यालयको चमेना गृह संचालकमा कोरोना देखिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीभित्र रहेका ५ थुनुवामा संक्रमण पुष्टि भयो । त्यही दिन जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका युनिटहरूमा रहेका १६ जना थुनुवामा एकसाथ कोरोना पुष्टि भएको थियो।
हाल संक्रमित सबै थुनुवालाई छुट्टै स्थानमा सारिएको छ। उनीहरूसँगको सम्पर्कले सुरक्षाकर्मीसमेत जोखिममा परेका छन् ।
शुक्रबार प्रहरीका अधिकृतसहितका सुरक्षाकर्मीहरूले पीसीआर परीक्षणका लागि स्वाब दिएका छन्। कोरोनाका कारण कार्यालयबाट प्रदान हुँदै आएको सेवा पूर्णरुपमा प्रवाह गर्ने अवस्था नरहेको एसपी थापाले बताउनुभयो ।
कोरोनाका कारण भाडामा बस्दै आएका प्रहरीलाई रोलकलका आधारमा बाहिरैबाट ड्युटी खटाउन थालिएको छ । भित्रका प्रहरीलाई सकेसम्म भित्रै रहनेगरी काम लगाउने गरिएको छ ।
सुनसरीमा अहिलेसम्म ५६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।