विराटनगर । विराटनगरमा कोरोना संक्रमण सामुदाय स्तरमा फैलिएपछि त्यसको व्यवस्थापन गर्न सरकारी निकाय अक्षम भइरहेको बेला एसियाटिक होटलमा ६५ शैय्याको सःशुल्क आइसोलेसन सञ्चालनमा आएको छ ।
विराटनगरको एयरपोर्ट रोडमा रहेको एसियाटिक होटललाई संक्रमित राख्ने आइसोलेसन बनाएर आइतबारदेखि सञ्चालन गरिएको हो ।
प्रदेश १ सरकारले दुई साता अगाडि मोरङ, झापा र सुनसरीको १÷१ वटा होटललाई आइसोलेसन बनाउने नीतिगत निर्णाय गरेको गरेको थियो । तर, त्यसको प्रक्रिया अगाडि नबढेको बेला होटल सञ्चालकले आफैं होटललाई आइसोलेसन बनाउन पहल गरेका हुन् ।
आइतबार विराटनगर महानगरपालिकासँग होटल आइसोलेसन सञ्चालनसम्बन्धि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको होटल सञ्चालक पुन्य भट्टराईले जानकारी दिनुभयो । होटलको आइसोलेसन सुरु भइसकेकोले संक्रमितहरू बस्न थालेका छन् । अहिले ९ जना संक्रमित होटलको आइसोलेनमा बसेको संचालक भट्टराईले जानकारी दिनुभयो ।
अहिले सबेका बैंक र विद्युत प्राधिकरणका कर्मचारीहरू होटल आइसोलेसनमा बसेका छन् । होटल आइसोलेसनमा बस्ने संक्रमितले प्रतिदिनको १ हजार १ सय रुपैयाँ तिरेर कोठामा बस्नेछन् । लन्च, ब्रेकफास्ट र अन्य खानेकुरा होटलको मेनुअनुसार हुनेछ ।
होटलमा आइसोलेसनमा बस्ने संक्रमितहरूलाई विराटनगर महानगरको स्वास्थ्य टोलीले परामर्श दिने विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो । आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा कुनै गम्भीर समस्या आएमा उसलाई महानगरकै एम्बुलेन्सबाट तुरुन्त अस्पतालमा लगिनेछ ।
कुनै संक्रमितले कोठामा आफू एक्लै सुविधासम्पन्न हिसाबले बस्न चाहेमा त्यो त्यसको पनि व्यवस्था रहेको होटलक सञ्चालक भट्टराईले जानकारी दिनुभयो । होटल एसियाटिकमा सञ्चालन गरिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको उहाँको दावी छ ।
होटल एसियाटिकमा आइसोलेसन बस्न नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणले यसअघि नै कोठा बुक गरेको छ ।