१२ वर्षको संघर्षले सफलताको नजिक किरण

विराटनगर । एपिवान एचडिबाट प्रसारण भइरहेको नेपाल आइडल शो गत बिहिबारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको छ ।

भोटिङका आधारमा चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट बाहिरिएको उक्त संस्करणबाट फाइनलको निम्ति किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेदवाल छानिएका हुन् ।

नेपाल आइडलमा सशक्त प्रस्तुती दिई टप–३ (फाइनल)मा आएका किरण भुजेल एक संघर्षशील व्यक्ति हुन् । महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त गाउँमा सामन्य परिवारमा जन्मेका किरण बाल्यकालबाटै संगीतमा रुचि राख्ने र गाउने गर्थे । स्कुल र गाउँमा मात्र होइन बर्दिबास भरी नै उनको चर्चा हुने गर्थ्यो । सानो उमेरबाट नै स्कुलका शिक्षकहरु साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछ्स गायक बन्नु पर्छ भनेर भनेको कुरा आज पनि किरण सम्झन्छन् ।

२०६५ सालमा एसएलसी सकेर गायक बन्ने सपना बोकी गोजीमा ३ हजार रुपैयाँ बोकेर काठमाडौ छिरेका भुजेल संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भएका थिए । बाकीँ समय शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिके ।

विधार्थी जीवनमा एक सामान्य परिवारको युवालाई अभाव र आफ्नो सपनाको सार्थकताको बिच भागमा उभिँदा कतिसम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुराको ज्ञान किरणमा राम्रै छ । संगीतको आकाशमा आफुलाई चम्किलो ताराको रुपमा स्थापित गर्न संगीत सिक्ने क्रममा दिनानुदिन गाडी भाडा तिर्ने पैसा समेत गोजीमा नहुँदा काठमाडौंको गल्ली–गल्ली खाजा समेत नखाई हिँडेको कुरा आज पनि किरणको स्मृतीमा ताजा नै छ ।

आफु संगीतमा अब्बल हुन थालेपछि काठमाडौंको अभाव विधार्थी जीवन झेल्न प्राइभेट स्कुलमा संगीत विषय पढाउन थालेका उनी साँझ होटेलहरुमा गीत गाउने गर्दथे । यसबीच किरणले आाफ्नै संगीत, स्वरमा थुप्रै गीतहरु सार्वजनिक गरे तर त्यसले किरणलाई सांगीतिक चिनारी खासै दिन सकेन । आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिस्पर्धा, भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शोमा नेपालबाट छनौट भएर भारतसम्म गए तर उनी कतै सफल हुन सकेनन् ।

एकपटक उनले संगीत छाडेर पैसा कमाउन विदेश पलायनको योजना बनाइसकेका थिए त्यसबेला उ जस्तै संघर्षरत साथी प्रेम घिमिरे, दिनेश न्यौपानेहरुले उसलाई विदेश जान रोकेका थिए । उनको अन्तिम प्रस्तुती सुन साईँली बोलको गीत उसलाई प्रवासमा रहेका लाखौँ नेपाली माँझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको र त्यसबेला आफु भावविभोर भएको बताउँछन् ।

टप–७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुनः वाइल कार्ड इन्ट्रिमार्फत कार्यक्रममा प्रवेश गरेका थिए ।अहिले उनै किरणले टप ४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका थिए । अभाव, संघर्ष र दृढ संकल्पसहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै, अथक मिहेनत र प्रयासपछि आज किरण नेपाल आइडल सिजन–३ को फाइनल चरणमा छन् ।

उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन् । नेपाल आइडल सिजन–३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गरि बिजेता बनाइदिन हुन किरण अनुरोध गर्छन् । किरणलाई भोट गर्न NI03 टाइप गरेर 37000 मा एसएमएस वा 16667703 डायल गर्न सकिन्छ । इसेवा र रेस्पेक्ट एपबाट पनि भोटिङ्ग गर्न सकिनेछ ।

शनिबार, ०६ भदौ, २०७७, साँझको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर