काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले पार्टीका देखिएको समस्यालाई समाधान गर्न गठन भएको कार्यदललाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले अहिले पार्टीमा देखिएको समस्या समाधान र सरकारका कामहरुलाई प्रभाबकारी बनाउन सुझाब दिने अपेक्षा बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले कार्यदल गठनलाई सकरात्मक रुपमा लिँदै अध्यक्षद्वयलाई धन्यवाद ज्ञापन गरेको छ । कार्यदलले देशमा देखिएका समस्या र पार्टीमा देखिएको समस्या समाधान हुनेगरी पार्टी र सरकारलाई सक्षम पार्नेगरी सुझाव पेश गर्ने आशा राखिएको श्रेष्ठले बताउनुभयो ।
दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा बसेको हो । कार्यदलले छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने बताइएको छ ।
दुई अध्यक्षबीच पटक–पटकका छलफलपछि शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा भीम रावल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।