विराटनगर । परिवारका सदस्यमा कोरोना संक्रमण भएका विराटनगरका २ महिलाको शनिबार राति मृत्यु भएको छ । विराटनगर ९ की ६२ वर्षीय महिला र विराटनगर ३ की ८७ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।
उनीहरु दुबैका परिवारका सदस्य कोरोना संक्रमित भएपछि एकजनाको कोरोना परीक्षणको लागि स्वाब संकलन भएको रिपोर्ट नआउँदै मृत्यु भएको छ भने अकी महिलाको परीक्षण नै भएको थिएन ।
विराटनगर–९ की ६२ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएपछि आइतबार बिहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो । वृद्धाको परिवारका एक सदस्य ४५ वर्षीय पुरुषको यसअघि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । उनका २ छोरा र एक छोरीमा पनि कोरोना देखिएको छ । जसमध्ये एक छोरा सम्पर्कविहीन रहेको महानगरपालिकाले जनाएको छ ।
अहिले मृत्यु हुने बृद्धा कोरोनाबाट मृत्यु हुने पुरुषकी आमाकी बहिनी हुन् । कोरोना कारण पुरुषको मृत्यु भएपछि ‘कन्ट्याकक्ट ट्रेसिङ’ गरेर परिवारका सदस्यलाई परीक्षण गर्दा पनि ती बृद्धाको परीक्षण भएको थिएन । परिवारले नै उनको बारेमा जानकारी नदिएकोले परीक्षणमा छुटेको अध्यक्ष भगतको भनाइ छ ।
वृद्धाको पारिवारिक सम्बन्धका ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैगरी शनिबार राति नै विराटनगर–३ का कोरोना संक्रमित व्यक्तिकी आमा ८७ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ ।
छोरालाई आइसोलेनसमा भर्ना गरिएपछि ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार वृद्धाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, उनको रिपोर्ट नआउँदै मृत्यु भएको हो ।
प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा ओखलढुंगा र सोलुखुम्बु गएर फर्किपछि कोरोना देखिएको थियो । उनलाई आइसोलेसनमा भर्ना गरी आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, ज्वरो आउनेलगायत समस्या देखिएपछि पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक सम्बन्धका ६ जनाकै रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन ।
वृद्धाको शव व्यवस्थापनका लागि अहिले परिवारका सदस्य र आफन्त रिपोर्टको पर्खाइमा छन् । कोरोना शंकास्पद वृद्धाको मृत्यु भएपछि चाँडो गरेर रिपोर्ट उपलब्ध गराउनलाई पहल भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।