विराटनगर । समुदाय स्तरमै संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

थपिएका संक्रमितहरु ५ देखि ६३ वर्षका रहेका छन् । उनीहरूको २७ र २८ गते स्वाब संकलन भएको थियो । संक्रमितमध्ये २४ जना पुरुष र १९ जना महिला छन् ।

सबैभन्दा बढी विराटनगर– ६ मा ७ जना संक्रमित थपिएका छन् भने विराटनगर ३, ९, ११ र १५ मा ६/६ जना, विराटनगर २ र ५ मा ४/४ जना, विराटनगर ४ मा ३ जना, विराटनगर ८ मा १ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

महानगरका संक्रमितमध्ये ८६ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।