बीपी प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन कार्यदल गठन

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन अध्ययन कार्यदल गठन भएको छ।

काठमाडौंमा भएको प्रतिष्ठानको ४४औं सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको नेतृत्वमा ९ सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यसचिवमा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीलाई तोकिएको छ भने सदस्यहरुमा प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा.मधुर भट्टराई, धरान उपमहानगरका उपप्रमुख मञ्जु भण्डारीलाई तोकिएको छ । कार्यदलले चार महिनाभित्र सम्भाव्यता प्रतिवेदन पेस गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहकुलपति तथा सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पारित गर्दै कार्यदल गठन गरेको हो । प्रतिष्ठान विश्वविद्यालय बनेमा नेपालकै पहिलो मेडिकल विश्वविद्यालय हुनेछ।

सिनेट बैठकले प्रतिष्ठानमा प्रदेशको रिफरल ट्रमा सेन्टर र मानव अङ्ग प्रत्यारोपण केन्द्र निर्माण गर्ने पनि निर्णय गरेको छ। यस्तै बैठकले प्रतिष्ठानको शैक्षिक, कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थपानका विषय समेटेर छुट्टै नियमावली बनाउनका लागि मस्यौदा समितिसमेत गठन गरेको छ। समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाललाई संयोजक तोकिएको छ।

बैठकले प्रतिष्ठानका विभिन्न ठाउँमा रहेका जग्गाहरुमा स्थानीय सरोकारवालासँग छलफल गरी अस्पतालकै रुपमा विस्तार गर्ने र ती जग्गा व्यापारिक प्रयोजनमा नदिने निर्णय गरेको छ। प्रतिष्ठानका जग्गा व्यापारीलाई नदिन भन्दै नेपाली काङ्ग्रेसले आपत्ती जनाउँदै आएको थियो ।

बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँको बजेटसमेत पारित गरेको छ । कोरोना महामारीका बेला हतारमा बैठक गरिएको भन्दै धरानमा राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुले विरोध जनाएका थिए।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको १२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर