उर्लाबारी । तत्त्कालिन जाँते गाविसका गुप्ति, खोलिटार, बेलटार, सामलिङ, बाह्रकोठे र धानखेती गाउँ, जहाँ सधै कम्युनिष्टको दबदबा रहन्थ्यो । अनिल लिङ्देन ‘रुद्र’को व्यक्तिगत लोकप्रियताले ति ठाउँहरु आज नेपाली कांग्रेसको पकड थलोका रुपमा परिणत भएका छन् ।
सिङ्गो गाउँपालिकामा एमाले लहर आइरहँदा गत स्थानीय चुनाबमा अनिलले मिक्लाजुङ–५ मा फराकिलो मतान्तरले बाजी मार्न सफल बने ।
अर्थात् उनको लोकप्रियताको अगाडी कांग्रेस इतर शक्तिहरुको केहि लागेन । वडाध्यक्षमा निर्वाचित भएर उनले दुर्गम गाउँमा चारतारे झण्डा फहराउन सफल बने । आफ्नै पहलमा सुविधा सम्पन्न वडा कार्यालय भवन बनाए । हाल विकास–निर्माणको काममा दिनरात नभनी खटिरहेका छन् । उनै उर्जावान यूवा अनिल लिङ्देन नेपाली कांग्रेस मिक्लाजुङको सभापति पदमा प्रत्यासी बन्ने भएका छन् ।
नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन नजिकिंदै गर्दा उत्तरी मोरङको मिक्लाजुङमा नेतृत्वका लागि लिङ्देनको चर्चा सुरु भएको छ । गाउँ सभापतिमा आधा दर्जन व्यक्तिको नाम चर्चामा आए पनि यसअघि जाँते कांग्रेसको सभापति भइसकेका लिङ्देनलाई बलिया उम्मेदवारको रूपमा कांग्रेसवृत्तमा चर्चा भइरहेको छ ।
सबैसंग सहजै घुलमिल हुन सक्ने, विकाशप्रेमी जस्ता छविले पनि उनलाई यसपाली गाउँ सभापतिको बलियो उम्मेदवार बनाएको हो । गाउँ तथा नगर अधिवेशनमै आफ्नो पकड जमाउन गुटगत अभ्यास सुरु भइसकेका कारण गाउँ अधिवेशनमा पनि विभिन्न खेमा हुने करिब निश्चित प्रायः छ । मिक्लाजुङ सभापतिका लागि सेमन्तराज दाहाल, खगेन्द्र माखिम, शेरबहादुर बस्नेत, बबि राई र गोपाल बस्नेतको नाम पनि चर्चामा आएको छ ।
यद्यपि कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापति खड्ग फागो दुवैले विश्वास गर्ने भएका कारण लिङ्देनले सभापतिमा बाजी मार्ने कार्यकर्ताको भनाई छ । लिङ्देन भने सर्वसम्मत नेतृत्वमा आउने चाहना रहेको बताउँछन् ।
उनले भने–पदका लागि अन्यत्र मारामार भएपनि मिक्लाजुङ कांग्रेसले एकताको सन्देश दिने, गुटबन्दिरहित पार्टीको निर्माण गर्ने पहलकदमी गर्ने छु । साथै सिङ्गो मिक्लाजुङमा नेपाली कांग्रेसलाई चुनाब जित्ने मेशिन बनाउनेपनि उनको भनाई छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा जसरी कांग्रेसले हार व्यहोरेको छ, आगामी दिनमा त्यस्तो क्षति हुन नदिनपनि मेरो उम्मेद्वारी हो’, लिङ्देनले दृढता व्यक्त गरे ।