विराटनगर । लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा उद्योग सञ्चालकले उद्योग बन्द नगरी निरन्तर सञ्चालन गर्दा कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये दुई जना सम्पर्कविहिन रहेका छन् । बुढीगंगा गाउँपालिकाले दिएको जानकारी अनुसार उद्योगका १५० भन्दा बढीको पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । सुरुमा उद्योगका २ मजदुरमा कोरानो संक्रमण देखिएको थियो ।
मजदुरमा कोरानो संक्रमण देखिएपछि उद्योग शिल गरेर अन्य मजदुरलाई आइसोलेसनमा राखी स्वाब परीक्षण गर्नुपर्नेमा उद्योग निरन्तर सञ्चालन गरिएको थियो । बुढिगंगा गाउँपालिकाले उद्योग शिल गर्न निर्देशन दिएपनि सञ्चालकले गेटमा उद्योग शिल गरिएको सूचना टाँसेर उद्योग नियमित सञ्चालन गर्दा अन्य मजदहरु संक्रमित भएका हुन् ।
उद्योगमा काम गर्ने मजदुरहरु आसपासको बस्तीमा घर भएका तथा डेरा बस्नेहरु पनि रहेकोले स्थानीय त्रसित छन् । उद्योगका संक्रमितलाई उद्योगकै आइसोलेसनमा राख्न प्रशासनले निर्देशन दिएपछि उनीहरुलाई अहिले उद्योगभित्रै राखिएको छ । दुईजना कर्मचारी भने होम आइसोलेसनमा छन् ।
उद्योगमा कार्यरत विराटनगर ढाट चोकमा डेरा गरी बस्ने दुईजना भारतीय नागरिक भने संक्रमण पुष्टि भएसँगै भागेको बताइएको छ । एउटै घरमा बस्ने चारमध्ये दुईजनाको पोजेटिभ आएपछि स्वाब संकलन गरिएकोमा उनीहरु भागेको बुढिगंगा २ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
अधिकांश भारतीय मजदुर काम गर्ने कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको आरतीमा लकडाउन भएपछि मजदुरहरु भारत गएका थिए । लकडाउन खुकुलो बनेसँगै उद्योगले भारतबाट मजदुर बोलाएर विना सतर्कता उद्योग सञ्चालन गरेकोले कोरोना संक्रमण फैलिएको हो ।
उद्योगमा स्थानीय पनि काम गर्छन् । उद्योगका कारण गाउँमा संक्रमण फैलने डर भएपछि हिँडडुलमा कडाइँ गरिएको गाउँपालिकाले जनाएको छ ।