विराटनगर । कोरोना संक्रमण देखिएछि स्वास्थ्य अवस्था गम्भीर बनेकोले काठमाडौं लगिएका विराटनगरको नोबेल मेडिकल कलेजका एक चिकित्कलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ ।
काठमाडौंको शिक्षण अस्पतालको आईसियुमा उपचाररत चिकित्सकको अक्सिजन कम भएर स्वासप्रश्वासमा सस्मया बढ्दै अवस्था जटिल बनेपछि प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको हो ।
कोभिड निमोनिया भइ स्वास्थ्यमा समस्या आएपछि गत सोमबार राति नोबेलका दुई चिकित्सकलाई शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा लगिएको थियो । उनीहरुमध्ये एक जनको अवस्था सामान्य भएपनि एक जना चिकिसत्कको अवस्था जटिल बनेपछि आइसीयूमा उपचार भइरहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको कोभिड १९ नियन्त्रण समन्वय समितिका संयोजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिनुभयो ।
‘आइसीयूमा भर्ना भएका चिकित्सकमा अक्सिजन रिक्वाइटमेन्ट बढेको छ । जसले गर्दा स्वासप्रश्वसामा समस्या हुन आएको छ,’ दासले भन्नुभयोे, ‘प्लाज्मा थेरापीबाट उपचार गर्ने प्लानिङ्ग गरेर भारतबाट औषधी मगाएका छौं ।’ उनको बिहीबार प्लाज्मा थेरापीबाट उपचार हुने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।
गत शनिबार नोबेल अस्पतलाका दुई जना डाक्टरमा प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित दुवै जना ‘रेसिडेन्ड’ डाक्टर हुन् ।
यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्कीको पहिलो पटक प्लाज्मा थेरापीबाट सफल उपचार भएको छ । नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित कार्की संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।