कोरोनाबाट थप चार जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनुषाका २, काभ्रेपलाञ्‍चोक र सिन्धुपाल्चोकका १÷१ जनाको कोरोनाबाट मृत्यु भएको हो । धनुषा विदेह नगरपालिका ८ बस्ने ६० वर्षका पुरुषको सोमबार राति प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । क्षयरोगी ती पुरुष साउन ८ गते निमोनिया भइ अस्पतालमा आईसीयूमा उपचारमा थिए ।

यस्तै मिथिला विहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि स्वाब नमुना संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो । उनमा झाडापखला लागेको थियो ।

अर्का मृतक काभ्रे पाँचखाल नगरपालिका १ का ५० वर्षीया महिला हुन् । उनको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मंगलबार मृत्यु भएको हो । आइतबार निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार नै कोरोना पुष्टि भएको हो ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो । मुटु तथा मिर्गौला सम्बन्धी समस्याका कारण २१ साउनमा अस्पताल भएका ती वृद्धामा मंगलबार कोरोना पुष्टि भएको हो ।

मङ्गलबार, २७ साउन, २०७७, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर