खोटाङ । स्थानीय स्तरमा उत्पादित मदिरा (रक्सी)लाई बैधानिक बनाउन माग गर्दै खोटाङबाट प्रधानमन्त्री केपी ओलीलाई रक्सी उपहार पठाइएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलमार्फत किरात राई यायोक्खाले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र र रक्सी उपहार पठाएको हो ।

स्थानीय उत्पादनलाई प्रतिबन्ध गरेर बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका रक्सीहरुको प्रवर्द्धन गरिएको विरोधमा ज्ञापनपत्र पठाएको किरात राई यायोक्खाका जिल्ला अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । किराती संस्कृतिमा जन्मदेखि मृत्युसम्म रक्सीको प्रयोग हुने गरेपछि स्थानीय रक्सीलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

स्थानीय उत्पादन बन्द गराउनुले किराती संस्कृतिविरुद्ध राज्य उभिएकोले त्यसको अन्त्य हुनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । किराती आमा चेलीहरुलाई उत्पादन गरेको रक्सीलाई प्रतिबन्ध नगरी ब्राण्ड बनाएर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा ज्ञापनपत्रमार्फत सुझाइएको छ ।