प्रक्रिया पुरा नगरी जेनेरेटर खरिद

खरिद प्रक्रियामा असहमति जनाउने स्टोर किपरको सरुवा

उदयपुर । कार्यालय प्रमुखले आफुखुसी खरिद गरेको जेनेरेटर स्टोर दाखिला नगर्दा यातायात व्यवस्था कार्यालय उदयपुरका स्टोर किपर लेखराज कटुवालको सरुवा भएको छ ।

लकडाउनको बेला कार्यालय प्रमुख शुभाष कार्की र सहलेखापाल प्रिया दर्शनी थपलियाको मिलेमतोमा पाँच लाखमा जेनेरेटर खरिद गरिएको थियो । स्टोर किपरलाई खरिद गरिएको समानको बारेमा थाहा नभएको र असार ३० गते कार्यालय प्रमुखले स्टोर दाखिला गर्न दबाब दिए पछि विवाद भएको थियो । खरिद प्रक्रियामा आफू संलग्न नभएकाले कागजात हेरेर मात्र दाखिला गर्ने बताउँदा कार्यालय प्रमुख कार्कीले मुख्यमन्त्रीको कार्यालयमा भनेर अन्यत्र सरुवा गराईदिएको कटुवालको आरोप छ ।

‘समानको भुक्तानी भई सकेपछि दाखिला गर्न भनेपछि मैले दाखिला नगरेको हो,’ स्टोर किपर कटुवालले भने, ‘माग फारम खदिर आदेश र दाखिला प्रतिवेदन भएपछि मात्र भुक्तानी गर्न मिल्छ, हाम्रा हाकिम सापले त भुक्तानी दिई सकेपछि खरिद आदेश र दाखिला प्रतिवेदन बनाउन लगाउनु भयो ।’

चैत्र ६ गते जेनेटरको भुक्तानी गरिएको भएपनि प्रमुख कार्कीले असार अन्तिममा कटुवाललाई खरिद डकुमेन्ट तयार गर्न दवाव दिएका थिए । यातायात कार्यालयका स्टोर किपर कटुवालको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश १ को मिति २०७७ साउन १२ गते निर्णयानुसार सरूवा भएको पत्र कार्यालयमा आएको छ ।

यता कार्यालय प्रमुख कार्कीले भने जेनेटर खरिद प्रक्रियामा आफ्नो कुनै कमजोरी नभएको दाबी गरेका छन् । स्टोरकिपर कटुवालसँग पहिले पनि सामान्य विवाद भएको कारण आफूले अन्यत्र सरुवा मागेको भएपनि मुख्यमन्त्री कार्यालयले कटुवालको नै सरुवा गरिदिएको कार्कीले बताएका छन् ।

कार्यालय प्रमुख कार्कीले यातायात क्षेत्रको बिचौलिया रुपमा परिचित खेम आचार्यमार्फत् यातायात निर्देशनालयका प्रमुख भिम गौतमको पहलमा मुख्यमन्त्री कार्यालयमा दवाव दिई स्टोर किपर कटुवालको सरूवा गरेको कार्यालयकै एक कर्मचारीले ठोकुवा गरे । यातायात व्यवस्था कार्यालय प्रमुख रहेको बेला गतवर्ष गौतमले एक होटलमा मध्यरातसम्म मदिरा सेवन गरी हो–हल्ला गर्दा सम्झाउन आएका छिमेकीको घर खरिद गरिदिने धम्की दिएपछि उनको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको थियो ।

बिचौलिया आचार्यले उदयपुरमा सवारी अनुमति पत्र (लाईसेन्स) चाँडै आउने भन्दै उदयपुरमा आफैले ट्रायल सेन्टरमा लगानी पनि गरेका छन् । आचार्यले सवारी अनुमति पत्र आए पश्चात राम्रो कमाईहुने भन्दै यातायात निर्देशनालयमार्फत् आफू अनुकूलको कर्मचारीहरू समेत सरूवा गर्ने गरेको आरोप छ ।

प्रदेश १ का सबै यातायात कार्यालयमा आफ्नो पहुँच भएको दाबी गर्ने आचार्यले उदयपुरसहित धनकुटा, इलाम, विराटनगरमा समेत आफैले ट्रायल सेन्टर निर्माण गर्दै आएको स्रोतले बताएको छ । ट्रायल सेन्टर चलाउन आचार्यले आफू अनुकूलका कर्मचारीहरू सेटिङ मिलाउँदै आएका छन् ।

यसअघि पनि कार्यलय प्रमुख कार्कीको कार्यालय संचालन क्षमता नभएको भन्दै पटक पटक सेवाग्राहीहरूसँग बिवाद हुदै आएको छ । लाइसेन्स नविकरण लगायतको काम गर्न आएका सेवाग्राहीहरूको समेत कार्यालयमा काम भएको छैन । कार्यालयका अन्य कर्मचारीहरूलाई अफिसको कोड नदिएका कारण विगत एक हप्ता यता लाइसेन्स नविकरण ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।

शुक्रबार, १६ साउन, २०७७, दिउँसोको ०१:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर