‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको संगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

अध्यक्ष प्रचण्डले २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएका विचारहरु समेटिएको पुस्तक सार्वजनिक भएको हो ।

संसदीय राजनीतिबाट सशस्त्र युद्ध, सशस्त्र युद्धबाट शान्तिपूर्ण रुपान्तरण, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनको संयोजन, संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता मुद्दा संस्थागत गर्दै नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दाका अनुभवसहितका बिचार पुस्तकमा छन् । २४० बर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्नसक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्नुहुने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरुमा अध्यक्ष प्रचण्डले धन्यवाद दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले यस पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, वुद्धिजीवि र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गर्नुभएको छ । ३८५ पृष्ठको पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

साउन १५, २०७७, दिउँसोको ०२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर